वीरगञ्ज कृषि औजार कारखानाको उत्पादन भएका उपकरणको बिक्री बढ्दो, ९ महिनामा १७ लाखको कारोबार
पर्सा , चैत्र ९ : वीरगञ्जस्थित कृषि औजार कारखानाले उत्पादन गरेका साना–ठूला कृषि उपकरणहरूको बिक्री उल्लेख्य रूपमा बढ्दै गएको छ।
राष्ट्रिय आविष्कार केन्द्र का अध्यक्ष महावीर पुनको नेतृत्वमा सञ्चालन भइरहेको कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरेको जनाएको छ।
कारखानाका इन्जिनियर रितेश देवका अनुसार आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरको औजार बिक्री गर्ने लक्ष्य राखिएको छ। उनले हालसम्म ३० भन्दा बढी कृषि औजारमा अनुसन्धान भइसकेको र १० प्रकारका औजार उत्पादन गरेर बजारमा बिक्री भइरहेको जानकारी दिए।
कारखानाले एक हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने औजार उत्पादन गर्दै आएको छ। किसानलाई सहज रूपमा उपलब्ध हुने गरी मकै, धान, गहुँ, उखु र आलु खेतीका लागि रोप्ने, गोड्ने तथा काट्ने मेसिन उत्पादन भइरहेको छ। साथै हाते ट्याक्टरको ट्रली र केराको रेशाबाट फाइबर निकाल्ने मेसिनसमेत निर्माण गरिएको छ।
महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट २० करोड रुपैयाँभन्दा बढी रकम संकलन गरेका छन्, जसमध्ये ३ करोड रुपैयाँ कारखानामा लगानी भइसकेको छ। कारखानामा हाल ४५ जना कर्मचारी कार्यरत छन् भने मासिक खर्च करिब ६ लाख रुपैयाँ हुने गर्दछ।
२०५९ सालदेखि बन्द रहेको यो कारखाना २०७९ कात्तिकमा सरकारले १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन जिम्मा दिएको हो। कच्चा पदार्थमा भारतमाथि निर्भरता र फलामको मूल्यवृद्धि चुनौतीका रूपमा देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
