लहानमा ४५ विपन्न तथा वृद्धवृद्धालाई फाइबर सिरक वितरण

शेयर गर्नुहोस् 0 Shares

लहान, सिरहा १८ पुष
बढ्दो चिसोलाई मध्यनजर गर्दै सिरहाको लहान नगरपालिकामा रहेका अति विपन्न, दलित, एकल महिला तथा अपाङ्गता भएका वृद्धवृद्धाहरूलाई न्यानो सामग्री (फाइबर सिरक) वितरण गरिएको छ। स्नेह वृद्धा आश्रम र लहान नगरपालिकाको संयुक्त आयोजनामा लहान नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरी ४५ जनालाई सिरक वितरण गरिएको हो।
​स्नेह वृद्धा आश्रमकी अध्यक्ष रिता कुमारी महतोको अध्यक्षता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
​पीडामा मलम लगाउने प्रयास
​कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष रिता महतोले समाजमा अझै पनि धेरै वृद्धवृद्धाहरू आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, "हाम्रो समाजमा वृद्धवृद्धाहरू राम्रो खान र लाउन पनि तर्सिरहेको अवस्था छ। उहाँहरूको पीडामा थोरै भए पनि मलम लगाउन हामीले यो प्रयास गरेका हौं।" अध्यक्ष महतोले सिरक मात्र नभई जाडोका लुगाहरूको पनि उत्तिकै आवश्यकता रहेको औंल्याउँदै लहानमा छिट्टै वृद्धा आश्रम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। यस कार्यमा नगरपालिका, प्रदेश सरकार र मनकारी दाताहरूको सहयोग अपरिहार्य रहेको उहाँको भनाइ थियो।
​चिसोबाट बचाउने अभियान
​संस्थाकी सह-सचिव सञ्जु दासले घरदैलोका क्रममा धेरै परिवारहरू परालको आगो तापेर रात काट्न बाध्य रहेको पाइएको बताउनुभयो। चिसोका कारण बिरामी पर्ने दर बढेकाले वृद्धवृद्धाहरूले सहजै रात काट्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो।
​नगरपालिकाको प्रतिवद्धता
​प्रमुख अतिथि एवं नगर प्रमुख महेश प्रसाद चौधरीले नगरका कुनै पनि नागरिक चिसोले कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्ने हेतुले नगरपालिकाले अभियान नै सञ्चालन गरेको बताउनुभयो। स्नेह वृद्धा आश्रमले वास्तविक आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरेकोमा प्रशंसा गर्दै उहाँले आगामी दिनमा जाडोका लुगाहरू वितरणका लागि समेत सहयोग गर्ने वाचा गर्नुभयो।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्