फ्रान्स–नेपाल सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धताउपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलबीच नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध, सहयोग र मैत्रीलाई थप सुदृढ बनाउने विषयमा छलफल।
काठमाडौं, असार २५ – सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भर्जिनी कोर्टेभलले बिहीबार उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा दुवै पक्षबीच नेपाल–फ्रान्स सम्बन्ध, आपसी सहयोग तथा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण छलफल भएको थियो। शुभकामना आदान–प्रदानसँगै दुई देशबीचको मित्रतालाई आगामी दिनमा अझ सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान गरिएको थियो।
उपराष्ट्रपति यादवले सन् १९४९ देखि नेपाल र फ्रान्सबीच कायम रहेको कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयो। उहाँले फ्रान्सेली क्रान्तिका मूल आदर्श ‘स्वतन्त्रता, समानता र भातृत्व’ ले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका विभिन्न चरणमा प्रेरणा प्रदान गरेको बताउनुभयो।
युरोपेली सङ्घ (ईयू) मार्फत फ्रान्सले नेपाललाई निरन्तर उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले फ्रान्सको राष्ट्रिय दिवसको अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोन तथा सम्पूर्ण फ्रान्सेली जनताप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्नुभयो।
भेटका क्रममा राजदूत भर्जिनी कोर्टेभलले आफ्नो कार्यकालभर नेपाल–फ्रान्स सम्बन्धलाई थप उचाइमा पुर्याउन निरन्तर प्रयास गरेको उल्लेख गर्दै नेपालप्रतिको आफ्नो आत्मीयता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल मेरो हृदयमा बस्ने देश हो।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
