अर्नमा गाउँपालिकामा १९ किमी पक्की सडक निर्माणको शिलान्यास, अध्यक्ष यादवको कार्यको स्थानीयद्वारा प्रशंसा
रहमुल, सिरहा, ३१ वैशाख । सिरहाको अर्नमा गाउँपालिकामा १९ किलोमिटर पक्की सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष अशोक कुमार यादव को नेतृत्वमा सुरु गरिएको उक्त योजनालाई स्थानीयले ऐतिहासिक विकास अभियानको रूपमा प्रशंसा गरेका छन्।
पालिका भवनदेखि गोतहा, किसनपुर माध्यमिक विद्यालय, वडा नं. ५ कार्यालय हुँदै हुलाकी सडकसम्म जोड्ने गरी निर्माण हुन लागेको उक्त सडकको शिलान्यास भव्य कार्यक्रमका बीच सम्पन्न गरिएको हो। स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सडक निर्माणले गाउँपालिकाको समग्र विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्नमा गाउँपालिकाको चारैतिर सडक सञ्जाल विस्तार गरी नागरिकलाई सहज यातायात सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताए। उनले गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विकास अभियानलाई तीव्र बनाइने उल्लेख गरे।
स्थानीयवासीले लामो समयदेखि अपेक्षा गरिएको सडक निर्माण प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष यादव नेतृत्वको स्थानीय सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले सडक निर्माणपछि शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिमा समेत सहजता आउने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
