आइडियल साकोस सप्तरीमा नेफ्स्कूनको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न: सुशासन र वित्तीय अनुशासनमा जोड

शेयर गर्नुहोस् 1 Shares

सप्तरी,४ असार : सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सप्तरीस्थित आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा दोस्रो स्थलगत सुपरिवेक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाको समग्र वित्तीय स्वास्थ्य र सुशासनको अवस्थालाई चुस्तदुरुस्त राख्ने अभियान अन्तर्गत नेफ्स्कूनको टोलीले उक्त सुपरिवेक्षण गरेको हो। सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, कर्जा लगानी, नीतिगत व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको सूक्ष्म रूपमा अध्ययन तथा मूल्यांकन गरिएको थियो।

संस्थाका अनुसार यस सुपरिवेक्षणले संस्थागत सुधार र जोखिम व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। पछिल्लो समय सहकारी क्षेत्रमा वित्तीय अनुशासन र सुशासनको विषयलाई लिएर विभिन्न प्रश्नहरू उठिरहेको बेला गरिएको यस प्रकारको अनुगमनले संस्थाको आन्तरिक कार्यप्रणालीलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण र प्राप्त सुझावहरूले संस्थाका कमीकमजोरीहरूलाई समयमै सुधार गर्न मार्गनिर्देशन गर्ने र यसबाट शेयर सदस्यहरूको संस्थाप्रतिको विश्वास तथा अपनत्व थप अभिवृद्धि हुने विश्वास संस्थाले लिएको छ।

सहकारीहरूलाई सुरक्षित, मर्यादित र सदस्य-केन्द्रित बनाउन नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूमा नियमित रूपमा यस्ता स्थलगत सुपरिवेक्षण तथा अनुगमनका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्