"बालेन बालेनै हुन्। अझ भनौँ, बालेन मात्र हुन्।"

शेयर गर्नुहोस् 0 Shares

 
 

लेखक: धीरेन्द्र प्रेमर्षि (फेसबुक पेजबाट लिएको)
 
 
"बालेन बालेनै हुन्। अझ भनौँ, बालेन मात्र हुन्।"
उनको नामको अगाडि वा पछाडि कुनै पनि किसिमको फुर्को-सुर्को झुण्ड्याउनु अहिले अनावश्यक लाग्छ। काठमाडौँको मेयरमा उनी उठ्दा मैले पहिलोपटक यो नाम सुनेको थिएँ।
मलाई अझै सम्झना छ, नेकपा एमालेनिकट एकजना बहिनीले उत्साहका साथ भनेकी थिइन्— "दाजु हौ, यसपालि त हामीले बालेनलाई पो भोट दिन लाग्यौँ त!" जब मैले "को हुन् बालेन?" भनेर सोधेँ, उनको जवाफ निकै अर्थपूर्ण थियो। उनले भनिन्— "खै, बालेन भन्ने मात्र थाहा छ, अरू त केही जान्दिनँ; तर भोट उसैलाई हाल्ने भनेर सबैले भन्दैछन्। मेरो छोरोले पनि हत्ते हालेको छ।"
हो, यसरी नै एउटा विम्ब बनेर स्थापित भए— बालेन।

पछि बुझ्दै जाँदा उनका पारिवारिक र सांस्कृतिक पाटाहरू खुल्दै गए। उनका पितासँग म पनि परिचित रहेछु। मिथिला संस्कृतिका सक्रिय अभियन्ता ई. सत्यनारायण साहका भतिजा अनि मेरा चलचित्रकर्मी मित्र अमितेश शाहका आफ्नै 'पितियौत' भाइ हुन् भन्ने थाहा पाएपछि पनि मेरो दिमागले उनलाई बालेनबाहेक अर्को रूपमा स्वीकार्नै सकेन। उनको व्यक्तित्वको आयतन यति ठुलो थियो कि त्यहाँ कुनै नातावाद वा क्षेत्रीय चिनारीले स्थान पाउनै सकेन।
मेयरका रूपमा उनले गरेका कामलाई कतिले प्रशंसाको फूल चढाए, कतिले आलोचनाको वाण प्रहार गरे। उनका सञ्जालीय पोष्टहरूलाई कसैले लहड भने त कसैले रणनीति माने। तर यी सबै चर्चा र विवादका बीच उनी सधैँ 'बालेन' मात्रै बनिरहे।
विशेषतः काठमाडौँको महानगर, जहाँ नेवार समुदायको सघन बसोबास र एउटा विशिष्ट सांस्कृतिक वर्चस्व छ, त्यहाँ उनले स्थानीय जनभावनाको मर्मलाई समातेर नेपालभाषाको पठन-पाठनलाई अगाडि बढाए। यस सन्दर्भमा पनि उनी कुनै जात वा क्षेत्रको प्रतिनिधि नभई केवल एउटा जिम्मेवार र सचेत मेयरका रूपमा 'बालेन' मात्र रहे।

जब सङ्घीय राजधानीको मेयर बन्न उनलाई कुनै जात, धर्म, क्षेत्र वा समुदायजन्य चिनारीको वैशाखी आवश्यक भएन भने, अब सिङ्गो देशको नेतृत्वको परिकल्पना गर्दा झन् किन चाहियो अतिरिक्त परिचयको फुर्को? काठमाडौँको मौलिकता र सांस्कृतिक संवेदनशीलतालाई आत्मसात् गर्ने प्रयत्न गरेजस्तै अबको बृहत्तर यात्रामा देशको बहुलता र विविधतालाई निबर्सिए पुग्छ।
अन्त्यमा, बालेनको परिचय भनेको बालेनै हो। यसमा अरू केही थप्नु वा घटाउनुको कुनै अर्थ रहँदैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्