सिराहामा ३८ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ

शेयर गर्नुहोस् 0 Shares

सिराहा, २९ पुस । सिराहाको धनगढीमाई नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो सिराहाको संयुक्त टोलीले मंगलबार राति खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक सिराहाको गोलबजार नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षीय अभिषेक शाह र सोही मोटरसाइकलको पछाडि सवार सिन्धुलीको दूधौली नगरपालिका वडा नं. ९ टारी बस्ने ३२ वर्षीय एलेक्स आले रहेका छन् ।

मंगलबार राति करिब ९ः१५ बजेको समयमा धनगढीमाई नगरपालिका वडा नं. १० जिरोमाईल चोकमा जाँच गर्ने क्रममा बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेको थियो । चेकजाँच गर्दा मोटरसाइकलको इन्धन ट्याङ्कीको कभरभित्र लुकाइछिपाई राखिएको अवस्थामा खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार प्लास्टिकसहित जोख्दा उक्त पदार्थ ४०.५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको पाइएको छ ।पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। प्रहरी नायब उपरीक्षक (सूचना अधिकारी) रमेश बहादुर पालका अनुसार उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्