मौनताबाट परिवर्तनतर्फ : साहसी छोरीहरूको यात्रा
महिला सशक्तिकरण नेपाल, समाज परिवर्तन, मौनता विरुद्ध आवाज, न्याय र मर्यादा
लेखक : रमिता नेपाल दाहाल
समाज परिवर्तनका हरेक चरणहरूमा केही साहसी आवाजहरू जन्मिन्छन्, जसले वर्षौंदेखि जरा गाडेर बसेका गलत मान्यतालाई चुनौती दिन सक्छन्। हाम्रो समाजमा पनि लामो समयसम्म धेरै छोरीहरूले आफ्ना पीडा, अन्याय र हिंसालाई मौनतामै सीमित राख्न बाध्य भएका थिए। "मैले यसो गरे भने समाजले के भन्ला, परिवारको इज्जत कहाँ पुग्ला, छोरी भएर धेरै जान्ने हुनु हुँदैन" भन्ने सोचले हाम्रो आत्मविश्वासलाई यसरी बाँधेको थियो, जसलाई खोल्ने हिम्मत जोकोहीसँग थिएन। त्यसैकारण आम छोरीहरूका अनेक सपना अधुरा रहेका थिए, अनेक आँसु कसैले नदेख्ने गरी बगेका थिए। अनेकौं अन्यायलाई सम्बन्ध जोगाउने नाममा सहनुपरेको यथार्थ अझै हाम्रो सामु अडिक भएर रहेको छ। त्यतिबेला मौनतालाई सहनशीलता र त्यागको रूपमा व्याख्या गरियो, तर त्यस मौनताभित्र कति पीडा लुकेको थियो भन्ने कुरा समाजले वा परिवारले कहिल्यै महसुस गर्न सकेन। अनि ती आँसु लुकाउन सिकाइयो, पीडा दबाउन सिकाइयो र अरूको छवि जोगाउन आफ्ना खुशीको आहुति दिन लगाइयो। कति अबोध छोरीहरूले त्यो पीडा पार गरेर अहिले परिवर्तित जीवन जिउन सिकेका ज्वलन्त उदाहरण पनि भेटिन्छन्।
बदलिँदो परिस्थिति
आज परिस्थिति विस्तारै बदलिँदै छ। शिक्षाको विस्तार, कानुनी सचेतना, प्रविधिको पहुँच र सामाजिक सञ्जालको प्रभावसँगै धेरै छोरीहरू आफ्ना अनुभव र पीडालाई निर्भीक रूपमा व्यक्त गर्न थालेका छन्। उनीहरू अब अन्यायलाई सामान्य ठानेर सहने होइन, सत्यलाई सम्मानका साथ सार्वजनिक गर्ने बाटो रोजिरहेका छन्। सम्बन्ध जोगाउने नाममा आत्मसम्मान गुमाउनु हुँदैन भन्ने चेतनालाई उनीहरू बलियो बनाउँदै लगिरहेका छन्। अन्याय भएको अनुभव व्यक्त गर्ने अधिकार प्रत्येक व्यक्तिको मौलिक अधिकार हो भन्ने उनीहरू बुझिरहेका छन्। आज उठेका यी आवाजहरूले एउटा व्यक्तिको कथा मात्र प्रस्तुत नगरी, वर्षौंदेखि बोल्न नसकेका असंख्य महिलाको भावना र संघर्षलाई पनि प्रतिनिधित्व गरिरहेका छन्। यही साहसले अरूलाई पनि अन्यायविरुद्ध उभिन प्रेरित गरिरहेको सत्यता आज हामी भेटिरहेका छौं।
वास्तविक परिवर्तनको आधार
अबको हाम्रो लक्ष्य केवल आवाज उठाउनु मात्र होइन, आवाज उठाउनुपर्ने अवस्था नै सिर्जना नहुने समाज निर्माण गर्नु हो। कुनै पनि व्यक्तिले बोलेको सबै कुरा स्वतः सत्य हुन्छ भन्ने होइन, र सबै आरोप कानुनी प्रक्रिया, प्रमाण र निष्पक्ष न्यायको कसीमा परीक्षण हुनुपर्छ। तर आफ्नो पीडा, अनुभव र अन्यायको अनुभूति व्यक्त गर्ने अधिकार भने प्रत्येक नागरिकको आधारभूत अधिकार हो। त्यसैले हाम्रो प्रयास आरोप-प्रत्यारोपको संस्कृति होइन, सत्य, न्याय र उत्तरदायित्वको संस्कृतिलाई बलियो बनाउनु हो।
छोरीहरूले निडर भएर आफ्नो कुरा राख्न पाऊन्, छोराहरूले सम्मान, समानता र जिम्मेवारीको संस्कार सिकून्, परिवार विश्वासको आधार बनोस्, र समाजले पीडितको आवाजलाई पूर्वाग्रह होइन संवेदनशीलता र न्यायपूर्ण दृष्टिले सुन्न सकोस् — यही नै वास्तविक परिवर्तनको आधार हो। कुनै पनि परिवर्तनको अर्थ समाजलाई विभाजित गर्नु होइन; यो त अन्यायको अन्त्य हुनु, संवादलाई विस्तार गर्नु र मानव मर्यादालाई सर्वोच्च स्थान दिनु हो।
जब कुनै पनि छोरीले आफ्नो सम्मानका लागि डर र मौनताको सहारा लिनुपर्ने अवस्था रहनेछैन, तब उनले आफ्ना सपना पूरा गर्न संघर्ष त गर्नेछिन्, तर आफ्नो अस्तित्व बचाउन बारम्बार पीडा र मृत्युजत्तिकै कठोर परिस्थितिसँग लड्नुपर्नेछैन। तब मात्र हामी आफूलाई साँच्चिकै सभ्य, न्यायपूर्ण र समतामूलक समाज भएको आभास गर्न सक्नेछौं। आजका साहसी छोरीहरूको आवाज कसैप्रतिको घृणाको आवाज होइन — यो त अन्यायविरुद्धको चेतना, समानताको माग र मानव मर्यादाको पक्षमा उठेको आवाज हो। त्यसैले यो आवाजलाई दबाउने होइन, सुन्ने, बुझ्ने र त्यसबाट मनन गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
