मेयर महेश चौधरी खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त

शेयर गर्नुहोस् 0 Shares

लहान, जेठ १३ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई नेपाल खानेपानी संस्थानको केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नगरपालिकाको नेतृत्व सम्हालेदेखि खानेपानी र सरसफाइ क्षेत्रमा उनले गरेको उत्कृष्ट कार्य र योगदानको उच्च मूल्यांकन गर्दै सरकारले यो जिम्मेवारी सुम्पेको हो ।
नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै मेयर चौधरीले आफूलाई विश्वास गरी महत्त्वपूर्ण दायित्व दिएकोमा नेपाल सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।
पछिल्लो समय लहानमा खानेपानी सेवालाई अझ व्यवस्थित र चुस्त बनाउने कार्य तीव्र गतिमा अघि बढेको छ । नगरमा खानेपानीको पहुँच विस्तारसँगै नयाँ धारा जडान गर्ने घरपरिवारको संख्यामा उल्लेख्य वृद्धि भएको छ भने विभिन्न वडाहरूमा पाइपलाइन विस्तार कार्यलाई प्राथमिकता दिइएको छ । यसअघिको तुलनामा घर-घरमा पानी आउने अवधिसमेत बढेको छ, जसकारण स्थानीय बासिन्दाहरू निकै हर्षित छन् ।
लहानलाई देशकै नमुना स्वच्छ नगर बनाउने संकल्पका साथ विशेष स्वच्छता अभियानसमेत सञ्चालनमा छ । मेयर चौधरीले भने — "नगरको विकास र स्वच्छता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन । बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यवसायी र सम्पूर्ण नगरबासी सबैलाई स्वच्छता अभियानमा सक्रिय सहभागिता जनाउन हार्दिक आग्रह गर्दछु ।"
केन्द्रीय सञ्चालक समिति सदस्यमा नियुक्त भएसँगै मेयर चौधरीले लहानको अनुभवलाई केन्द्र स्तरमा उपयोग गर्दै देशभरकै खानेपानी सेवालाई थप प्रभावकारी बनाउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्