शेयर बजारमा कारोबार घट्यो तर सूचकाङ्क र पुँजीकरण उकालो

शेयर गर्नुहोस् 0 Shares

काठमाडौँ, १३ जेठ । चालु आर्थिक वर्षमा नेपालको शेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ, तर नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक बनेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म धितोपत्र दोस्रो बजारमा रु १० खर्ब २८ अर्ब बराबरको कारोबार भएको छ, जुन गत वर्षको रु १४ खर्ब ६५ अर्बको तुलनामा झण्डै एक तिहाइले कम हो । औसत दैनिक कारोबार पनि रु ९ अर्ब ८३ करोडबाट घटेर रु ७ अर्ब ४५ करोडमा झरेको छ ।

तर सकारात्मक पक्षमा नेप्से परिसूचक २८२०.४५ विन्दुमा पुगेको छ, जुन गत वर्षको २७३६.४९ विन्दुभन्दा माथि हो । त्यसैगरी कूल बजार पुँजीकरण ४.४२ प्रतिशतले बढेर रु ४७ खर्ब ४४ अर्ब पुगेको छ ।

लगानीकर्ताको सहभागिता भने बढेको देखिन्छ । फागुनसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कूल जनसङ्ख्याको २६ प्रतिशत हो । अनलाइन कारोबारमा लग–इन गर्ने लगानीकर्ताको सङ्ख्या पनि २५ लाख ४९ हजारबाट बढेर ३१ लाख ८२ हजार पुगेको छ ।

सर्वेक्षणले कारोबार रकम घटे पनि बजारप्रति लगानीकर्ताको आकर्षण बढिरहेको सङ्केत गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्