भन्सार हटाउने निर्णयविरुद्ध सिरहामा आन्दोलन, जिरोमाईलमा राजमार्ग ठप्प
लहान, ११ जेठ। बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध सिरहामा आन्दोलन चर्किएको छ। सोमबार बिहानदेखि जिरोमाईल बजारमा स्थानीयवासी, जनप्रतिनिधि र व्यापारीहरूले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध प्रदर्शन गरे।
प्रदर्शनकारीहरूले सडकमा टायर जलाउँदै नाराबाजी गरे। "बरियारपट्टी छोटी भन्सार कायम गर", "स्थानीयको अधिकार खोस्न पाइँदैन" लगायतका नाराले जिरोमाईल दिनभरि गुञ्जायमान रह्यो। आन्दोलनका कारण राजमार्गमा सवारी आवागमन पूर्णतः ठप्प भयो।
बरियारपट्टी र औरही गाउँपालिकाका अध्यक्षसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि, व्यापारी तथा बुद्धिजीवीहरू आन्दोलनमा सहभागी थिए। नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरूले समेत आन्दोलनलाई समर्थन जनाएका छन्।
नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले छोटी भन्सार स्थानीय अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरे। "हजारौं व्यापारी, किसान र श्रमिकको जीविका यस कार्यालयसँग जोडिएको छ," उनले भने।
स्थानीय व्यापारीहरू भन्सार हटाइएपछि सीमावर्ती व्यापार कमजोर हुने, बेरोजगारी बढ्ने र स्थानीय व्यवसाय धराशायी हुने आशंकामा छन्। माग पूरा नभए थप सशक्त आन्दोलनको चेतावनी दिँदै उनीहरूले भन्सार कार्यालय कायम नहुँदासम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।
उता स्थानीय प्रशासनले आन्दोलनकारीसँग वार्ताको प्रयास गरिरहेको जनाएको छ। जिरोमाईल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति परिचालित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
