७२ वर्ष पुरानो श्री जनता मा.वि. बेल्हीको बिजोग: शौचालय नहुँदा खुल्लामै शौच गर्न बाध्य विद्यार्थी, बीचमै पढाइ छाड्दै छात्राहरु
रोसन यादव, बेल्ही सप्तरी/०५ जेष्ठ,
नयाँ शैक्षिक सत्र २०८३ सुरु भइसक्दा पनि ७२ वर्ष पुरानो ऐतिहासिक श्री जनता माध्यमिक विद्यालय, बेल्हीको भौतिक अवस्था अत्यन्त दयनीय देखिएको छ। शिक्षा जस्तो पवित्र क्षेत्रमा आधारभूत आवश्यकता मानिने खानेपानी र शौचालयको समेत व्यवस्था नहुँदा यहाँका विद्यार्थीहरु चरम समस्या भोग्न बाध्य छन्।
कक्षाकोठाभित्र र बाहिर उस्तै सास्ती
विद्यालयमा खानेपानीको कुनै प्रबन्ध मिलाइएको छैन। त्यसैगरी, शौचालयको उचित व्यवस्थापन नहुँदा विद्यार्थीहरु अहिले पनि खुल्ला क्षेत्रमा दिसा-पिसाब गर्न बाध्य छन्। कक्षाकोठाको अवस्था पनि उस्तै नाजुक छ। विद्यार्थीहरुलाई बस्नका लागि पर्याप्त बेन्च-डेस्कको व्यवस्थापन हुन सकेको छैन भने बिग्रिएका पंखाहरु मर्मतसम्भार नहुँदा गर्मीको समयमा पठनपाठनमा निकै कठिनाइ भइरहेको छ।
शौचालय नहुँदा छात्राहरुको भविष्य अन्योलमा
विद्यालयको यस्तो बेहाल अवस्थाको सबैभन्दा ठूलो मारमा छात्राहरु परेका छन्। सुरक्षित र व्यवस्थित शौचालय नभएकै कारण अधिकांश छात्राहरुले कक्षा ६ पुगेपछि विद्यालय नै छाड्नुपरेको गम्भीर तथ्य विद्यार्थीहरु आफैंले खुलाएका छन्। महिनावारीको समयमा हुने असहजता र विद्यालयमा सरसफाइको अभावले गर्दा छात्राहरुको ड्रप-आउट (विद्यालय छाड्ने) दर बढ्दै गएको छ।
स्थानीय सरकारको बेवास्ता र अभिभावकको आक्रोश
यस विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाहरु गरिब तथा विपन्न वर्ग परिवारका छन्। उनीहरु महँगो शुल्क तिरेर निजी विद्यालयमा जान सक्ने अवस्थामा छैनन्। तर, यति लामो इतिहास बोकेको सार्वजनिक विद्यालयको यस्तो बिजोग हुँदा समेत स्थानीय सरकार र सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै अभिभावकहरुको गुनासो बढ्दै गएको छ।
"गरिबका छोराछोरी पढ्ने ठाउँ भनेर स्थानीय सरकारले पूरै बेवास्ता गरेको छ। न बस्ने गतिलो बेन्च छ, न पिउने पानी। हाम्रा नानीबाबुहरुले कसरी पढ्ने?" एक जना आक्रोशित अभिभावकले भने।
सम्बन्धित निकायले तत्काल यस विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी र सुरक्षित शौचालय निर्माणमा ध्यान नदिए गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको शिक्षा पाउने मौलिक हक नै कुण्ठित हुने निश्चित छ। स्थानीय सरकारको ध्यान यसतर्फ बेलैमा जान जरुरी देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
