“४ हजारभन्दा बढी घर शौचालयविहीन” : लहानमा दिगो सरसफाइ अभियान सुरु

शेयर गर्नुहोस् 0 Shares

रहमुल,लहान २ जेठ सिरहाको लहान स्थित लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान” भन्ने नारासहित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास/WASH) अभियान औपचारिक रूपमा सुरु गरिएको छ।
नगरपालिकाले दलिद जनकल्याण युवा क्लब सँगको सहकार्यमा ‘द विकन’ परियोजना अन्तर्गत अभियान सञ्चालनमा ल्याएको हो।
अभियान बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिकालाई २०७४ सालमै खुला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि अझै हजारौं नागरिक आधारभूत सरसफाइ सुविधाबाट वञ्चित रहेको तथ्य सार्वजनिक गरे।
उनका अनुसार नगरपालिकाभित्र रहेका कुल २० हजार ५ सय ७७ घरधुरीमध्ये ४ हजार २ सय १ घरधुरी अझै शौचालयको पहुँचभन्दा बाहिर रहेका छन्।
नगरप्रमुख चौधरीका अनुसार शौचालय विहीन घरधुरी मध्ये सबैभन्दा बढी २ हजार ७ सय ८७ दलित समुदायका परिवार रहेका छन्। त्यस्तै २ सय ९५ मुस्लिम समुदायका तथा ३ सय ७२ जनजाति समुदायका घरधुरीमा समेत शौचालयको सुविधा उपलब्ध छैन।
उनले यस अवस्थालाई नगरको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै आर्थिक रूपमा अति विपन्न परिवारलाई नगरपालिका र परियोजनाको संयुक्त सहकार्यमा निःशुल्क शौचालय निर्माण गरिने जानकारी दिए।
उनले सरसफाइलाई केवल पूर्वाधार निर्माणसँग मात्र सम्बन्धित विषय नभई जनस्वास्थ्य, मानव सम्मान र सामाजिक चेतनासँग प्रत्यक्ष जोडिएको अभियानका रूपमा व्याख्या गरे। “खुला दिशामुक्त घोषणा गरेर मात्र दायित्व पूरा हुँदैन, प्रत्येक घरमा सुरक्षित र प्रयोग योग्य शौचालयको सुनिश्चितता हुनुपर्छ,” नगरप्रमुख चौधरीले भने, “यस अभियानलाई सफल बनाउन सम्पूर्ण नगरवासीको सक्रिय सहयोग आवश्यक छ।”
पत्रकार सम्मेलनमा अभियानको उद्देश्य, कार्ययोजना तथा सन् २०३० सम्म लहानलाई पूर्ण रूपमा दिगो खुला दिशामुक्त तथा स्वच्छ नगर बनाउने लक्ष्य बारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख चौधरीले सरसफाइलाई दीर्घकालीन सामाजिक अभियानका रूपमा अघि बढाइने स्पष्ट पारे।
अभियान अन्तर्गत समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, शौचालय निर्माणमा सहजीकरण गरिने, स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने तथा व्यवहार परिवर्तनसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिने जनाइएको छ।
स्थानीय सरोकारवाला निकाय, सामाजिक संघसंस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने यस अभियानले नगरको सरसफाइ अवस्था सुधार गर्दै स्वस्थ, सुरक्षित र स्वच्छ नगर निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्