लक्ष्मीपुर पतारीमा आधुनिक अस्पताल निर्माणको तयारी तीव्र मन्त्री राजकुमार गुप्ताद्वारा जग्गा उपलब्ध, स्वास्थ्य सेवा विस्तारमा नयाँ पहल
रहमुल, लहान २४ वैशाख । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ५ मा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। प्रस्तावित अस्पताल निर्माणस्थलको बुधबार स्थलगत निरीक्षण गर्दै सम्बन्धित निकायका प्रतिनिधिहरूले आवश्यक प्रशासनिक, प्राविधिक तथा पूर्वाधारसम्बन्धी विषयमा छलफल गरेका हुन्।
स्थलगत निरीक्षणमा मधेश प्रदेश सरकारका राजकुमार गुप्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादव तथा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर लगायतको सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा मन्त्री राजकुमार गुप्ताले लक्ष्मीपुर पतारी क्षेत्रमा आधुनिक तथा सुविधासम्पन्न अस्पतालको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको बताए। उनले अस्पताल निर्माणका लागि आवश्यक जग्गा आफूले दान गरिसकेको जानकारी दिँदै प्रारम्भिक प्रक्रिया समेत सुरु भइसकेको उल्लेख गरे। अब प्राविधिक अध्ययन तथा प्रशासनिक कार्यलाई तीव्रता दिइने उनको भनाइ थियो।
मन्त्री गुप्ताले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माणलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले सामान्य उपचारदेखि विभिन्न स्वास्थ्य सेवाका लागि लहान, जनकपुरधाम वा अन्य सहर धाउनुपर्ने बाध्यता कम हुनेछ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले प्रस्तावित अस्पताल क्षेत्रको अवलोकन गर्दै आवश्यक प्राविधिक अध्ययन, सेवा संरचना तथा पूर्वाधार विकास योजनालाई व्यवस्थित रूपमा अगाडि बढाइने बताए। उनले प्रदेश सरकार, स्थानीय तह तथा स्वास्थ्य मन्त्रालयबीचको समन्वयमा योजना कार्यान्वयन गरिने जानकारी दिए।
अनुगमनकै क्रममा मन्त्री गुप्ताले गाउँपालिकाद्वारा आयोजित बृहत् कृषि तथा पोषण मेलाको समेत उद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय कृषक, महिला समूह तथा कृषि क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको उल्लेखनीय सहभागिता रहेको थियो। मेलामा कृषि उत्पादन, पोषणसम्बन्धी सचेतना तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीयवासीहरूले अस्पताल निर्माणको पहललाई सकारात्मक रूपमा लिँदै योजना शीघ्र कार्यान्वयन हुनुपर्ने माग गरेका छन्। ग्रामीण क्षेत्रमा अझै प्रभावकारी स्वास्थ्य सेवा अभाव रहेको उल्लेख गर्दै सुविधासम्पन्न अस्पताल सञ्चालनमा आए ठूलो राहत पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
