दुर्गम बस्तीमा धार्मिक आस्थाको केन्द्र स्थापना भएपछि स्थानीयमा उत्साह

शेयर गर्नुहोस् 0 Shares

रहमुल, लहान २४ वैशाख । सिरहा जिल्लाको उत्तरी विकट क्षेत्र भालटारमा पत्रकार विनोद मण्डलको पहलमा निर्माण गरिएको माता रक्तमाला देवी मन्दिर को बुधबार एक विशेष धार्मिक समारोहबीच उद्घाटन गरिएको छ।
सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएका पत्रकार मण्डलले स्थानीय समुदायको धार्मिक आस्था र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नै पहलमा मन्दिर निर्माण अभियान सुरु गरेका थिए।

शिलान्यासदेखि निर्माण सम्पन्न हुँदासम्म उनले विभिन्न स्थानमा पुगेर चन्दा संकलन गरेका थिए। स्थानीय बासिन्दा, समाजसेवी तथा शुभेच्छुकहरूको सहयोगमा निर्माण सम्पन्न भएको उक्त मन्दिर विधिवत रूपमा समुदायलाई हस्तान्तरण गरिएको हो।

धार्मिक वातावरणमा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जग्गादाता अर्जुन तामाङ को अध्यक्षता रहेको थियो भने वडा नं. १३ का वडा अध्यक्ष सुर्यमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी पाण्डव हमाल विशिष्ट अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहेका थिए।

कार्यक्रममा गोकुल पोखरेल, समाजसेवी अनिल सिंह, पुजारी इन्द्र बहादुर लामा, अमर लामा, क्षितिज मोक्तान, बद्री प्रसाद लम्साल, धनकुमारी तामाङ, मैती तामाङ तथा रत्नमाया तामाङलगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष सुर्यमान तामाङले विकट क्षेत्रमा धार्मिक संरचना निर्माण हुनु गौरवको विषय भएको बताए। उनले पत्रकार विनोद मण्डलले पत्रकारितासँगै समाजसेवामा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने धारणा व्यक्त गरे।

विशिष्ट अतिथि पाण्डव हमालले पनि पत्रकार मण्डलको पहलको खुलेर प्रशंसा गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक संरक्षणमा युवाहरूको सक्रियता आवश्यक रहेको बताए। उनले भालटारजस्तो दुर्गम क्षेत्रमा मन्दिर निर्माण हुनु स्थानीय समुदायका लागि ठूलो उपलब्धि भएको उल्लेख गरे। साथै धार्मिक तथा सामाजिक कार्यमा आफू सदैव साथ र सहयोगका लागि तयार रहने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि पत्रकार विनोद मण्डलको निरन्तर सामाजिक योगदानको चर्चा गरेका थिए। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र धर्मका लागि गरिएको कार्य अनुकरणीय रहेको बताएका थिए। विशेषगरी दुर्गम क्षेत्रमा धार्मिक आस्थाको केन्द्र निर्माण हुनु स्थानीय समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ थियो।

पत्रकार विनोद मण्डलले मन्दिर निर्माण आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई स्थानीय समुदायको चाहना र धार्मिक भावनाको सम्मानस्वरूप गरिएको बताए। उनले निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्थानीयवासी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले मन्दिर निर्माणपछि गाउँमा धार्मिक तथा सांस्कृतिक गतिविधि थप सक्रिय हुने विश्वास व्यक्त गरेका छन्। यसअघि पूजा–आराधनाका लागि टाढा जानुपर्ने बाध्यता रहेको भन्दै अब आफ्नै गाउँमा धार्मिक कार्यक्रम सञ्चालन गर्न सहज हुने उनीहरूको भनाइ छ।
भालटार क्षेत्र सिरहाकै दुर्गम स्थानमध्ये एक मानिन्छ।

यातायात, शिक्षा तथा अन्य पूर्वाधारको पहुँच सीमित रहेको क्षेत्रमा निर्माण भएको यो मन्दिरले स्थानीयमा नयाँ उत्साह थपेको छ। धार्मिक आस्था, सामाजिक एकता तथा सामुदायिक सद्भाव कायम राख्न मन्दिरले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्