युएईविरुद्धको खेलमा नेपालको जित

शेयर गर्नुहोस् 0 Shares

काठमाडौँ, १२ वैशाख : आइसिसी विश्वकप लिग २ क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपालले  युएईमाथि ३७ रनको जित हासिल गरेको हो । नेपालले जितको दिएको २०१ रन चुनौती पछ्याएको युएई ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो ।

युएईका लागि हरप्रीत सिंहले ३९ रन जोडे भने कप्तान मोहम्मद वसीमले ३४ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए ।

त्यस्तै कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५/१५ रन बनाए ।

बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजयकुमार र खुजैमा तनवीरले समान ३–३ विकेट लिए । अब यही वैशाख १४ गते नेपालले ओमानसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्