नेपाललाई सस्तो होइन, उच्च मूल्यको 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य' बनाउनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो (बजेट) गन्तव्यको ट्यागबाट मुक्त गरी उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित 'प्रिमियम आरोग्य पर्यटन गन्तव्य'का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ।
बुधवार काठमाडौंमा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' (अप्रिल १५) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले उक्त कुरा बताउनुभएको हो। केवल पर्यटकको टाउको गनेर मात्रै देशको आर्थिक समृद्धि सम्भव नहुने भन्दै उहाँले पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो।
पर्यटकको सङ्ख्याभन्दा गुणस्तरमा जोड सभामुख अर्यालका अनुसार आरोग्य (वेलनेस) पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समयसम्म बस्छन्। उनीहरू विलासिताका लागि मात्र नभई आत्मिक शान्ति, स्वास्थ्य र जीवनको अर्थ खोज्न यात्रा गर्ने हुनाले नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय 'प्रोडक्ट' बन्न सक्ने उहाँले बताउनुभयो।
"आज विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको छ र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको छ," उहाँले भन्नुभयो, "नेपाललाई सस्तो गन्तव्यको रूपमा होइन, उच्च मूल्य र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ।"नेपालको प्रस्तावमा राष्ट्र संघको मान्यता 'ऐतिहासिक उपलब्धि' नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' को रूपमा औपचारिक मान्यता प्रदान गरेको प्रसंग उल्लेख गर्दै सभामुख अर्यालले यसलाई नेपालको ऐतिहासिक उपलब्धि मान्नुभयो।
यसले मानव जीवनलाई पुनः सन्तुलित बनाउने र प्रकृतिसँग जोड्ने सन्देश दिएको बताउँदै उहाँले भन्नुभयो, "नेपालको सभ्यता, संस्कृति र परम्परा आफैँमा आरोग्यका उत्कृष्ट उदाहरण हुन्। हाम्रा हिमालहरू केवल हिउँले भरिएका चट्टान मात्र होइनन्, यी ध्यान, शान्ति र आत्मानुभूतिका प्रतीक हुन्।" सगरमाथा, लुम्बिनी र पशुपतिनाथले दिने आध्यात्मिक ऊर्जा र शान्तिको सन्देश विश्वकै लागि महत्त्वपूर्ण रहेको उहाँले स्पष्ट पार्नुभयो।
आत्मिक अनुभूतिका गन्तव्य सभामुख अर्यालले नेपालका विभिन्न क्षेत्रलाई केवल घुम्ने ठाउँका रूपमा मात्र नभई आत्मिक अनुभूतिका गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउनुभयो। उहाँले विशेष गरी निम्न गन्तव्य र गतिविधिहरूको चर्चा गर्नुभयो:
पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारासम्मका क्षेत्रहरू।
लुम्बिनी, मनाङ र मुस्ताङ जस्ता आध्यात्मिक तथा प्राकृतिक गन्तव्यहरू।
कर्णाली र बबई नदीमा गरिने राफ्टिङ।
इलामको अन्तुडाँडाको सूर्योदयसँगै गरिने ध्यान र जैविक खानाको अनुभव।
राष्ट्रिय आरोग्य मोडेलको आवश्यकता अव्यवस्थित विकास र स्पष्ट रणनीतिको अभावले चुनौती थपेको स्वीकार गर्दै सभामुखले अब प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गरी नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले सरकार र सरोकारवालाहरूलाई निम्न कुराहरूमा ध्यान केन्द्रित गर्न सुझाव दिनुभयो:
स्पष्ट नीति र 'राष्ट्रिय आरोग्य मोडेल'को निर्माण गर्ने।
दिगोपन र गुणस्तरमा आधारित प्रणाली लागू गर्ने।
स्थानीय समुदायलाई पर्यटनको महत्त्व बुझाएर साझेदार बनाउने।
मानव संसाधन विकासमा लगानी गर्दै सेवाको गुणस्तर सुधार गर्ने।
वातावरणीय सन्तुलनलाई ध्यानमा राखेर मात्र पूर्वाधार विकास गर्ने।
पर्यटनलाई केवल व्यापारको रूपमा मात्र नभई राष्ट्रिय पहिचान र गौरवको विषयका रूपमा हेर्दै नीति निर्माण र त्यसको सही कार्यान्वयनमा लाग्नुपर्ने सभामुख अर्यालले भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
