लहान नगरपालिका वडा नं १० गोठटोल खुट्टिपारीका स्थानीय बासिन्दा बाटो र नालाको समस्याले सास्ती खेप्दै

शेयर गर्नुहोस् 0 Shares

लहान, चैत्र २५  :  सिरहा जिल्लाको पुरानो नगरपालिकाको रूपमा चिनिने लहान नगरपालिका, विशेष गरी वडा नं १० गोठटोल खुट्टिपारीका बासिन्दाहरू वर्षौँदेखि सडक र नालाको दुरवस्थाका कारण सास्ती खेप्न बाध्य छन ।

स्थानीय बासिन्दाहरूका अनुसार लहानको विकासको चर्चा जति बाहिर गरिन्छ, व्यवहारमा भने जनताले न्यूनतम पूर्वाधार समेत पाउन सकेका छैनन ्।

स्थानीय रामकुमार मण्डलका अनुसार असनहादेखि बेलहटियासम्मको सडक लामो समयदेखि कालोपत्रे हुन सकेको छैन । विगतमा पनि पटक–पटक सडक निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढेको भए तापनि हालसम्म कामले पूर्णता पाएको छैन । “नाला त बनाइयो, तर त्यसको उचित निकास र ढलान नहुँदा पानी जमेर दुर्गन्ध फैलिएको छ,“ उनले भने । सडकको खराब अवस्थाले गर्दा सामान्य सवारी साधन मात्र होइन, आपतकालीन अवस्थामा वारुणयन्त्र (दमकल) समेत छिर्न नसक्ने अवस्था रहेको उनले गुनासो गर्नुभयो ।

बाटोको दुरवस्थाले बालबालिका र वृद्धवृद्धाहरू बढी जोखिममा परेका छन् । स्थानीय एक महिलाले आफ्नो पीडा पोख्दै भनिन्, “नाला अधुरो हुँदा मेरा नाति–नातिनीहरू दुई पटक नालामा खसेर दुर्घटनामा परिसकेको छ तर पनि नालाको उचित व्यबस्थापन हुन सकेको छैन उनले भनिन बाटोभरि धुलो उड्छ, जसले गर्दा खाना पकाउन र बस्न समेत गाह्रो भएको छ ।

अर्का स्थानीय चन्देश्वर रामले वडा अध्यक्ष र मेयरलाई पटक–पटक आग्रह गर्दा पनि आश्वासन मात्रै पाइने तर काम सुरु नहुने गरेको बताए । उनले भने, “१० वर्षदेखि यही समस्या छ । बर्खा लागेपछि सबैको घरमा पानी पस्छ, तैपनि कसैले वास्ता गर्दैनन् ।
लहान नगरपालिकाले विकासको गतिमा फड्को मारेको दाबी गरिरहँदा वडा नं १० गोठटोल खुट्टिपारीका यो अवस्थाले नगरपालिकाको कार्यक्षमतामाथि प्रश्न उठाएको छ ।

आगामी बर्खायाम सुरु हुनुअघि नै बाटो र नालाको मर्मत नगरिए अझ ठुलो समस्या निम्तिने भन्दै स्थानीयले मेयर महेशप्रसाद चौधरी र वडा अध्यक्ष मन्टी मण्डलको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्