समयमै मल व्यवस्थापन गर्न सांसद खुश्वु ओलीको सरकारसँग माग
काठमाडौँ, चैत २४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले देशभरका किसानका लागि आवश्यक कृषि मलको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले बाली लगाउने समय नजिकिँदै गरेको अवस्थामा मलको सुनिश्चितताका लागि सरकारको ध्यान आकर्षण गराउनुभएको हो ।
द्वन्द्व र आपूर्ति संकटको चेतावनी
सांसद ओलीले पश्चिम एशियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनुका साथै आपूर्तिमा संकट आउन सक्ने संकेत देखिएको तर्फ सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, "रोपाईंको सिजन आउँदैछ । तर अन्तर्राष्ट्रिय परिस्थितिका कारण मलको अभाव हुन सक्ने देखिएको छ । यस्तो अवस्थामा सरकारले मल व्यवस्थापनका लागि कस्तो रणनीति अपनाएको छ?"
अर्थतन्त्र र खाद्य सुरक्षामा असर
समयमा मल उपलब्ध नभए किसानहरू मर्कामा पर्ने र त्यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र समग्र अर्थतन्त्रमा पर्ने उहाँको भनाइ थियो । सांसद ओलीका अनुसार मल अभावले:
कृषि उत्पादनमा ह्रास आउने ।
खाद्य सुरक्षा जोखिममा पर्ने ।
मुलुकको अर्थतन्त्रमा गम्भीर असर पुग्ने ।
मन्त्रालयहरूबीच समन्वयको खाँचो
सांसद ओलीले मलको सहज आपूर्तिका लागि वैकल्पिक स्रोतहरू खोज्न र आपूर्तिको विविधिकरण गर्न सरकारलाई सुझाव दिनुभयो । यो समस्या केवल कृषि मन्त्रालयको मात्र नभई कूटनीतिक पहलको पनि विषय भएकाले कृषि र परराष्ट्र मन्त्रालय मिलेर समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
"रोपाईंको मुखमा मलको अभाव नहोस् भन्नका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउनु पर्छ," उहाँले माग गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
