माननीय डा. अमरकान्त चौधरीद्वारा सप्तरीका विकास एजेन्डा प्रस्तुत
सप्तरी , चैत्र २० : मधेसका सांसदहरूसँग हिजो भएको छलफलमा माननीय डा. अमरकान्त चौधरीले सप्तरी जिल्लाको विकाससँग सम्बन्धित महत्वपूर्ण योजनाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
उहाँले विशेषगरी जिल्लाको क्षेत्र नम्बर ३ पछाडि परेको क्षेत्र भएकाले यहाँको जनजीवन सुधारका लागि तत्काल पूर्वाधार विकास आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले पातो–कठौना सडकको निर्माण कार्य शीघ्र सुचारु गर्न आग्रह गर्नुभयो, जुन स्थानीय जनताको प्रमुख यातायात मार्ग हो। साथै, राजविराजमा रहेको एक मात्र हवाई अड्डालाई आधुनिक र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै यसले क्षेत्रीय विकासमा टेवा पुर्याउने बताउनुभयो।
त्यसैगरी, सप्तरीमा सूचना प्रविधि क्षेत्रको विकासका लागि एक व्यवस्थित IT Hub स्थापना गर्नुपर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभयो। राजविराजस्थित औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखी पुनः सञ्चालन गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो, जसले रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
यस्तै, ट्राफिक चौकदेखि झौहरासम्मको सडक स्तरोन्नति गर्नुपर्ने माग पनि उहाँले राख्नुभयो, जसले यातायातलाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।
माननीय चौधरीका यी प्रस्तावहरूले सप्तरी जिल्लाको समग्र विकास, पूर्वाधार सुदृढीकरण र आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
