लहान नगरपालिकाले सुरु गर्‍यो स्वच्छ चुलो कार्यक्रम, १५ दिनभित्र आवेदन दिन आग्रह

शेयर गर्नुहोस् 0 Shares
लहान , १२ चैत : लहान नगरपालिकाले जलवायु कोष तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा सञ्चालन गर्न लागेको “स्वच्छ चुलो कार्यक्रम”का लागि उपभोक्ता छनोट प्रक्रिया अघि बढाएको छ। लहान नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत उपभोक्ताको विवरण संकलन गर्न आग्रह गरेको हो।

सूचनाअनुसार कार्यक्रमको अवधि ५ वर्ष रहनेछ। यस अन्तर्गत विद्युतिय चुलो, सुधारिएको चुलो (तह–३) तथा घरायसी बायोग्यास जस्ता प्रविधि प्रवर्द्धन गरिनेछ। कार्यक्रमको उद्देश्य परम्परागत इन्धन प्रयोग घटाई स्वच्छ ऊर्जा प्रयोगलाई बढावा दिनु हो।

नगरपालिकाले उपभोक्ता छनोटका लागि केही मापदण्ड समेत तोकेको छ। जसअनुसार विद्युतिय चुलो जडानका लागि घरमा कम्तीमा १५ एम्पियरको मिटर हुनुपर्नेछ भने बायोग्यास जडानका लागि १–२ वटा गाई/भैंसी हुनु आवश्यक पर्नेछ। साथै एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिइने जनाइएको छ।

त्यसैगरी एउटै घरपरिवारले दुईभन्दा बढी प्रविधि नपाउने व्यवस्था गरिएको छ। कार्यक्रमअन्तर्गत विभिन्न प्रविधिमा अनुदानको प्रतिशत पनि निर्धारण गरिएको छ, जसमा जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, स्थानीय तह र उपभोक्ताको लागत साझेदारी रहनेछ।

नगरपालिकाले १५ दिनभित्र वडा कार्यालयमार्फत विवरण संकलन गरी पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्