श्रीमतीको हत्या गरी हराएको नाटक: विराटनगरमा सनसनी

शेयर गर्नुहोस् 0 Shares

मोरंग ११ चैत्र : विराटनगरमा एक जघन्य घटनाले दाम्पत्य सम्बन्धभित्रको अविश्वास कति भयावह बन्न सक्छ भन्ने उजागर गरेको छ। विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहले आफ्नै ३२ वर्षीया श्रीमती कोमलकुमारी साहको हत्या गरी शव लुकाएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार रोशनले श्रीमतीको हत्या गरेपछि घटना लुकाउन सुनियोजित योजना बनाएका थिए। उनले शवलाई हातखुट्टा बाँधेर तन्नाले बेरी विराटनगर–१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि पानीमा फालेका थिए। शव घरबाट करिब ४–५ किलोमिटर टाढा फालिएको थियो, जसले घटना लुकाउने प्रयास स्पष्ट देखाउँछ।

घटना चार दिनपछि मात्रै सार्वजनिक भयो। स्थानीयले कल्भर्टमुनि तन्नाले बेरिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडेको अवस्थामा भेटिएको शवको पहिचान सुरुमा कठिन भए पनि हराइरहेका व्यक्तिको विवरणसँग मिलान गर्दा कोमलकुमारीकै भएको पुष्टि भयो।

रोशनले भने यसअघि नै श्रीमती हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। तर अनुसन्धानका क्रममा उक्त निवेदन नै घटना लुकाउने रणनीति भएको खुलेको हो। सोधपुछका क्रममा उनले हत्या स्वीकार गरिसकेका छन्।

प्रारम्भिक अनुसन्धानले घाँटी थिचेर हत्या गरिएको देखाएको छ। शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने थप रिपोर्टपछि घटनाको विस्तृत विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको मुख्य कारण दाम्पत्य सम्बन्धमा देखिएको अविश्वास भएको अनुमान गरेको छ। अहिले रोशनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्