ग्रेभेल सडकका कारण स्थानीयवासी सास्तीमा, समाधानको माग तीव्र
लहान, सिराहा चैत्र ९ — लहान नगरपालिका वडा नं. ७ स्थित क्यान्सर केयर सेन्टर अगाडिको ग्रेभेल सडकका कारण स्थानीयवासी र सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्। उक्त सडकमा सवारीसाधन आवतजावत गर्दा अत्यधिक धुलो उड्ने भएकाले आसपासको वातावरणमा उच्च स्तरको प्रदूषण फैलिएको छ।
स्थानीयका अनुसार दिनभरि गुड्ने मोटरसाइकल, सवारी गाडी तथा अन्य यातायातका साधनले सडकबाट उडाउने धुलोले हिँडडुल गर्न समेत समस्या हुने गरेको छ। धुलोका कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, रुघाखोकीजस्ता स्वास्थ्य समस्या बढ्दै गएको स्थानीयको गुनासो छ।
विशेषगरी अस्पताल क्षेत्र नजिकै यस्तो समस्या हुनु झन् चिन्ताजनक रहेको बताइन्छ। लामो समयदेखि समस्या कायम रहे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ। सडक कालोपत्रे गर्ने वा नियमित पानी हालेर धुलो नियन्त्रण गर्ने जस्ता आधारभूत उपायसमेत अपनाइएको छैन।
स्थानीयवासीले तत्काल सडक स्तरोन्नति गरी धुलो नियन्त्रणका प्रभावकारी उपाय अपनाउन माग गरेका छन्। जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस समस्यालाई बेवास्ता नगरी सम्बन्धित निकायले यथाशीघ्र पहल गर्नुपर्ने भन्दै यो विषय अहिले जनचासोको केन्द्र बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
