सिरहामा मानव बेचबिखन आरोपमा ८ जना पक्राउ, होटल र घरबाट सञ्चालन हुँदै आएको खुलासा

शेयर गर्नुहोस् 0 Shares

सिरहा ,चैत्र ९ — मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तीन फरक घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पहिलो घटनामा लहान नगरपालिका–८ मा बस्ने दिलिप साह र उनकी श्रीमती सुनिता साहले आफ्नै घरमा महिलाहरूलाई बोलाई आर्थिक प्रलोभन तथा दबाबमा पारेर वेश्यावृत्तिमा लगाएको पाइएको छ। उनीहरूले विभिन्न व्यक्तिसँग सम्पर्क गरी महिलाहरूलाई अनैतिक क्रियाकलापमा संलग्न गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, दोस्रो घटनामा लहान नगरपालिका–३ स्थित अनलाइन होटल एण्ड लँज कि सञ्चालिका अर्चना कुमारी चौधरीले महिलाहरूलाई फोनमार्फत बोलाई वेश्यावृत्तिमा संलग्न गराएको आरोप छ। सोही प्रकरणमा संलग्न रहेको आरोपमा अशोक कुमार चौधरी, नितिक कुमार चौधरी र आकाश चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूले आर्थिक लाभका लागि महिलाहरूलाई इच्छाविपरीत यौन व्यवसायमा लगाउने काम गरेको प्रहरीको दाबी छ।

यसैगरी, तेस्रो घटनामा धनगढीमाई नगरपालिका क्षेत्रको खुश्वु होटल एण्ड लँजका संचालक गुन्जेश्वर साहले महिलाहरूलाई प्रलोभनमा पारी बोलाएर वेश्यावृत्तिमा लगाएको पाइएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा शिव कुमार यादव समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। केही अभियुक्तलाई ५ दिन र केहीलाई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

सिरहा प्रहरीले पछिल्लो समय यस्ता अवैध गतिविधिविरुद्ध निगरानी कडा पार्दै आएको र यस प्रकारका घटनामा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। साथै, यस्ता अपराधबारे सूचना दिन सर्वसाधारणलाई समेत आग्रह गरिएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्