लहानमा खुट्टीखोला नहर अलपत्र : करोडौं लगानी, किसान अझै प्यासै

शेयर गर्नुहोस् 0 Shares

लहान चैत ८ , उदय पोष्ट न्युज डेस्क्  — सिरहाको लहान स्थित ऐतिहासिक खुट्टीखोला सिंचाइ नहरमा गरिएको करोडौं रुपैयाँको लगानी अपेक्षाअनुसार परिणाम दिन नसक्दा परियोजना अलपत्रजस्तै बनेको छ।

चन्द्र शमशेर राणा को पालामा निर्माण भएको मानिने यो नहर पछिल्ला वर्षहरूमा पटक–पटक पुनःनिर्माण र सुधारका नाममा बजेट खर्च भए पनि प्रभावकारी सञ्चालनमा आउन सकेको छैन।

लहान–१० बाट सुरु भई वडा नं. ६, ७ हुँदै ग्रामीण क्षेत्रका वडा नं. ११ (पडरिया), १२, २२, २०, २१, १९ र २३ सम्म सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको थियो। प्रदेश सरकारको करिब ८ करोड ५६ लाख रुपैयाँमा हेडवर्क्स निर्माण गरिएको र थप १५ लाख बजेट खर्च भए पनि उपलब्धि न्यून देखिएको छ।

३२ वर्षपछि बनाइएको अस्थायी बाँध दुई साता पनि टिक्न नसक्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। नहर सफाइ, कल्भर्ट निर्माणलगायतका काम भए पनि किसानका खेतसम्म पानी पुग्न सकेको छैन।

स्थानीयका अनुसार खुट्टीखोला वर्षायाममा मात्र बग्ने खहरे खोला भएकाले हिउँदमा प्रायः सुख्खा रहन्छ। यही कारण दीर्घकालीन रूपमा नहर सञ्चालन गर्न चुनौतीपूर्ण भएको उनीहरूको भनाइ छ।

करिब एक हजार बिघा जमिन सिँचाइ गर्ने लक्ष्य कागजमै सीमित हुँदा वर्षौंको लगानी ‘बालुवामा पानी’ जस्तै भएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

सरोकारवालाहरूले भने दीगो जलस्रोत व्यवस्थापन, वैज्ञानिक सम्भाव्यता अध्ययन र पारदर्शी कार्यान्वयन बिना यस्ता परियोजनाले परिणाम दिन नसक्ने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्