हात्ती दहमा ‘हात्तीदह वनस्टे’ सञ्चालनमा, पर्यटन प्रवर्द्धनमा लहान नगरको नयाँ पहल
रहमुल, लहान ४ चैत्र । सिरहाको लहान नगरपालिका–१५ स्थित रमणीय हात्ती दह क्षेत्रमा आजदेखि ‘हात्तीदह वनस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। लहान नगरपालिकाका मेयर महेश चौधरी ले उद्घाटन गरेको उक्त वनस्टेले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण हात्ती दह क्षेत्रमा सुरु गरिएको वनस्टेमा विशेष गरी थारु समुदायको मौलिक संस्कृति झल्किने परिकार, गीत–संगीत तथा नृत्यको व्यवस्था गरिएको छ। आगन्तुक पर्यटकहरूलाई एक दिनको गाँस–बासका लागि मात्र रु ८५० शुल्क निर्धारण गरिएको आयोजकले जानकारी दिएका छन्, जसले आन्तरिक पर्यटनलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै मेयर चौधरीले लहान नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उनले यस आर्थिक वर्षभित्रै सुविधा सम्पन्न दुई कोठे भवन निर्माण, सडक सञ्जाल विस्तार तथा युवाहरूका लागि रोजगारी सिर्जना गर्ने खालका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन्। उनका अनुसार, हात्ती दहलाई व्यवस्थित पर्यटन गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले आवश्यक पूर्वाधार र सहयोग निरन्तर प्रदान गर्नेछ।
कोइरालो वन उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पर्यटन विकास कार्यालय लहान, डिभिजन वन कार्यालय लहान सिरहा, केयर नेपालका प्रतिनिधिहरू, नगरपालिकाका सबै वडा अध्यक्षहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले हात्ती दह क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउँदै दीर्घकालीन रूपमा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न जोड दिएका थिए। साथै, स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै समुदायको आर्थिक सशक्तीकरणमा यस्तो पहलले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
उद्घाटनकै अवसरमा कोइरालो वन उपभोक्ता समितिको सहयोगमा प्रमुख अतिथि मेयर चौधरीद्वारा सदाय समुदायका तीन जना महिलाहरूलाई ग्यास सिलिन्डर र चुलो वितरण गरिएको थियो। यस कार्यलाई सामाजिक उत्तरदायित्व र स्थानीय जीवनस्तर सुधारतर्फको सकारात्मक कदमको रूपमा लिइएको छ।
स्थानीयवासी, दातृ संस्था तथा विभिन्न सरोकारवाला निकायहरूको सहकार्य र समर्थनमा सुरु भएको ‘हात्तीदह वनस्टे’ ले हात्ती दह क्षेत्रलाई पर्यटकीय नक्सामा स्थापित गर्ने मात्र नभई स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
