लायन्स क्लबद्वारा शितलहर प्रभावितलाई राहत : ५ जिल्लाका ९५० विपन्न परिवारलाई फाइबर सिरक वितरण
लहान, २२ पुस : न्युज डेस्क उदय पोष्ट
पछिल्लो दुई साता देखि बढेको चिसो र शीतलहरका कारण कठ्यांग्रिदो जाडोले जनजीवन प्रभावित बनेपछि लायन्स क्लबले महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर जिल्लाका विभिन्न स्थानमा फाइबर सिरक वितरण गरेको छ। लायन्स इन्टरनेशल अन्तर्गत नेपालको डिष्ट्रिक्ट ३२५ एफको एमरजेन्सी कोषबाट ७५ प्रतिशत र स्थानिय क्लबहरुको २५ प्रतिशत योगदानमा फाइबर सिरक वितरण गरेको डिष्ट्रिक्ट ग्लोबल मेम्बरशिप कोअर्डिनेटर लायन चक्रपाणि दहालले बताए । वितरण कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन केशर बहादुर भण्डारी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन शंकर कुमार शारदा, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन इन्द्र बहादुर कार्की, क्याबिनेट ट्रेजरर लायन डा. सुभाष घिमिरे, ग्लोबल मेम्बरशिप कोअर्डिनेटर लायन चक्रपाणि दहाल, ग्लोबल सर्भिस कोअर्डिनेटर लायन वसन्त थापा लगायत विभिन्न तहका लायन पदाधिकारी सहित स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको क्याबिनेट सेक्रेटरी लायन इन्द्र बहादुर कार्कीले जनाएका छन् ।
चिसो र शीतलहरको चपेटामा परेका गरिब, विपन्न समुदायका वृद्धवृद्धा, एकल महिला, अशक्त तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी बर्दिबास, मिथिला, जनकपुरधाम, मिर्चैया, धनगढीमाई, लहान, राजविराज, चौदण्डीगढी नगरपालिकाका विभिन्न वडामा हिजो र आज जम्मा ९५० थान फाइबर सिरक वितरण गरिएको ग्लोबल मेम्बरशिप कोअर्डिनेटर तथा कार्यक्रम संयोजक लायन चक्रपाणि दहाल जानकारी दिए।
संयोजक दहालका अनुसार लायन्स क्लबले पुन: अन्य नगरपालिकामा चरणबद्ध रूपमा फाइबर सिरक वितरण गर्ने योजना बनाएको छ।
कार्यक्रम मार्फत चिसोबाट प्रभावित विपन्न वर्गलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ भने स्थानीय क्लबहरुलाई समाजसेवाका क्रियाकलापमा अझ सक्रिय हुने वातावरण सृजना गर्न डिष्ट्रिक्ट एमरजेन्सी कोषबाट योगदान गरेको गभर्नर लायन केशर बहादुर भण्डारीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
