आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गरौँ, गगन थापालाई अघि सारिएको छ: उपसभापति विश्वप्रकाश शर्मा

शेयर गर्नुहोस् 0 Shares

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक स्थायित्वका लागि 'आलोपालो' प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ। बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले अबको निर्वाचनपछि कुनै पनि दलले स्थिर सरकार चलाउने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो।

सम्बोधनका क्रममा शर्माले आगामी सरकारको नेतृत्वका लागि नेपाली काँग्रेसले गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको खुलासा समेत गर्नुभयो।

‘विनर्स टेक अल’ को नयाँ सिद्धान्त

राजनीतिक अस्थिरतालाई चिर्न उपसभापति शर्माले ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ संवैधानिक अवधारणा प्रश्ताव गर्नुभएको छ।

चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ।

यदि संसदमा १ सय ३८ को बहुमत नपुगेमा, सबैभन्दा ठूलो दललाई समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर बहुमत पुर्‍याइदिने कानुनी व्यवस्था गर्नुपर्छ।

साना दलहरूको वैशाखीमा बन्ने र ढल्ने सरकारको साटो एउटै बलियो प्रधानमन्त्रीले देश हाँक्ने पद्धति बसाल्नुपर्ने उहाँको तर्क छ।उपसभापति शर्माले नेपाली काँग्रेसले देशलाई नयाँ गति दिन गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा नागरिक माझ लगेको बताउनुभयो।

"प्रधानमन्त्री बीचबीचमा आलोपालो गर्ने, पार्टीभित्रै र अरु दलसँगको भागबण्डाले देश बन्दैन। एउटा बलियो प्रधानमन्त्रीलाई पाँच वर्ष दिउँ। त्यसका लागि काँग्रेसले गगनकुमार थापालाई अगाडि सारेको छ।"

२१ गते हुने मतदानका लागि रुपन्देहीका पाँचै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन शर्माले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो। सानातिना आन्तरिक मतभेद बिर्सेर 'रुख' चिन्हमा गोलबद्ध हुन आग्रह गर्दै उहाँले निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने बताउनुभयो।

"२१ गते बिहान ब्युँझिदा पूरै रुपन्देही रुख रुख भन्दै उभिएको हुनुपर्छ," शर्माले भन्नुभयो, "देशलाई विषम परिस्थितिबाट बचाउन काँग्रेसको बहुमत आवश्यक छ।"

https://youtu.be/GwjvKFu72_c

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्