'हामी लुकाएर होइन, गर्वका साथ ५ वर्ष सरकार चलाउन चाहन्छौं' : गगन थापा

शेयर गर्नुहोस् 0 Shares

लहान, सिरहा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा राजनीतिक स्थिरता र सुशासनका लागि कांग्रेसले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्। मंगलबार सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अबको ५ वर्ष देशलाई सही दिशामा अघि बढाउन स्थिर सरकार अनिवार्य रहेको औँल्याएका हुन्।
पारदर्शी शासन: "हामी सरकार मात्र चलाउन चाहँदैनौं, हरेक दिन र महिनाको हिसाब जनतालाई बुझाउन चाहन्छौं," थापाले भने। उनले प्रत्येक महिनाको योजना र प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
संविधानको रक्षा: यो संविधान ठूलो बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले संविधानको रक्षा र सुधारमा आफू सधैं अडिग रहने जिकिर गरे। उनले उत्तेजना र चटकले नभई संयमताले मात्र देश बन्ने बताए।
भ्रष्टाचारविरुद्ध प्रहार: भ्रष्टाचारलाई 'महारोग' को संज्ञा दिँदै थापाले यसलाई अन्त्य गर्न बलियो कानुन र संस्थागत सुधारको थालनी माथिबाटै हुनुपर्नेमा जोड दिए।
संघीयताको समीक्षा: प्रदेश सरकारहरूको भद्दा संरचना र फजुल खर्चप्रति प्रश्न उठाउँदै उनले अब सरकारको आकार घटाउने बेला आएको संकेत गरे।

सहिदप्रति सम्मान
कार्यक्रम अघि सभापति थापाले लहानस्थित सहिद रमेश महतोको सालिकमा माल्यार्पण गर्दै मधेस आन्दोलनका सहिदहरूको योगदानको चर्चा गरेका थिए। उनले किसानले समयमै मल नपाउने जस्ता आधारभूत समस्या समाधान गर्नु नै सरकारको मुख्य प्राथमिकता हुनुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्