ओली र बालेनबाट देश चल्न सक्दैन, गगन थापा नै विकल्प: विश्वप्रकाश शर्मा

शेयर गर्नुहोस् 0 Shares

चितवन, माघ २७  | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचन र भावी नेतृत्वका विषयमा कडा टिप्पणी गर्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाह दुवै देशको नेतृत्वका लागि उपयुक्त नभएको बताउनुभएको छ।

सोमवार चितवनमा आयोजित एक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ओली र बालेनको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो। उहाँले ओलीलाई "धेरै बोल्ने" र बालेनलाई "मौन रहने" पात्रको रूपमा चित्रण गर्दै देश चलाउन सन्तुलित व्यक्तिको आवश्यकता पर्ने तर्क गर्नुभयो।

पात्रहरूको स्वभाव: उपसभापति शर्माले भन्नुभयो, "एकजना उम्मेदवार हुनुहुन्छ बोलेको बोलेई, घोचेको घोचेई गर्ने। अर्को प्रधानमन्त्रीको दाबेदार हुनुहुन्छ, एकछिन बोलेजस्तो गर्ने र फेरि मौन धारण गर्ने। धेरै बोल्ने र बोल्दाबोल्दै हराउने—दुवैबाट देश चल्न सक्दैन।"

अन्तर्राष्ट्रिय छवि: प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघ जस्ता अन्तर्राष्ट्रिय मञ्चमा देशको गरिमा राख्न सक्नुपर्ने बताउँदै शर्माले भन्नुभयो, "झोक चल्यो भने घर जलाइदिन्छु भन्ने अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त हुँदैन। विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न तौलेर बोल्ने क्षमता हुनुपर्छ।"

गगन थापाको समर्थन: शर्माले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई 'तौलेर बोल्ने' र स्पष्ट भिजन भएको नेताको रूपमा प्रस्तुत गर्नुभयो। देशको आगामी नेतृत्वका लागि थापा नै योग्य पात्र भएको उहाँको दाबी थियो।

जेन-जी आन्दोलन र जिम्मेवारी: 'जेन-जी' आन्दोलनको सन्दर्भमा बोल्दै उहाँले विगतमा सरकारमा रहँदा पार्टीबाट भएका कमीकमजोरीहरूको जिम्मेवारी लिन आफूहरू तयार रहेको समेत स्पष्ट पार्नुभयो।

अहिलेको राजनीतिक बहस केवल वडा अध्यक्षको नभई देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को चयनको भएकाले नागरिकहरूले गम्भीर भएर सोच्नुपर्ने बेला आएको शर्माको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्