नेपाल–कतार आर्थिक र पर्यटन सहकार्य सुदृढ बनाउने सहमति: पोखरा र भैरहवामा कतार एयरवेजलाई निम्तो

शेयर गर्नुहोस् 0 Shares

काठमाडौं, माघ २६  नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा हवाई सम्पर्क विस्तारका विषयमा उच्चस्तरीय छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल अन्सारीसहितको टोलीबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा नेपाल र कतारबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने र पर्यटन प्रवद्र्धनका लागि हवाई उडानको संख्या थप गर्ने विषयमा विस्तृत छलफल भएको थियो।

छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) लाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय एयरलाइन्सको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशेषगरी कतार एयरवेजले यी विमानस्थलबाट उडान सुरु गरेमा नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उहाँको भनाइ थियो।

मन्त्री सिन्हाले भन्नुभयो, "नेपालमा पर्यटन, लगानी र व्यापार विस्तारका लागि सरकारले नीतिगत सुधार र सहजीकरणमा जोड दिइरहेको छ। कतार एयरवेज र नेपाल वायुसेवा निगमबीचको सहकार्यका सम्भावनालाई पनि हामीले प्राथमिकतामा राखेका छौं।"

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि र पूर्वाधार क्षेत्रमा लगानीका लागि आकर्षक अवसर रहेको भन्दै कतारी लगानीकर्ताहरूलाई आह्वान गर्नुभयो।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदलीले नेपालको निजी क्षेत्रसँग दीर्घकालीन आर्थिक सहकार्य गर्न कतार इच्छुक रहेको बताउनुभयो। उहाँले उड्डयन र पर्यटन क्षेत्रको सहकार्यले दुई देशबीचको जनस्तरको सम्बन्धलाई समेत बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (JBC) को बैठकमा सहभागी हुन आइतबार नेपाल आएको कतारी प्रतिनिधि मण्डलले सोमबार नै नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन समेत गरेको छ। प्रतिनिधि मण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा छलफल गरेको छ।

यो भेटघाटले नेपाल र कतारबीचको कुटनीतिक तथा आर्थिक सम्बन्धमा नयाँ इँटा थप्ने र विशेषगरी भैरहवा तथा पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय व्यावसायिकतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्