विश्वकपमा सहभागी नेपाली टोलीलाई बालेन, प्रचण्ड र ओलीको शुभकामना
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई नेपालका प्रमुख राजनीतिक व्यक्तित्वहरूले उत्साहजनक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल र भिडियो सन्देशमार्फत टोलीको जितको कामना गरेका हुन् ।
बालेन शाहले सन् २०१४ को विश्वकप स्मरण गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्लको तारिफ गरेका छन । उनले लेखेका छन्, “क्रिकेटको आगामी लय र खेलकुद विकासको जिम्मेवारी हामीले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौ । उहाँकै अनुभव र भिजनअनुसार अब नेपालको क्रिकेट अगाडि बढ्नेछ ।“ उनले सिंगो देश क्रिकेट टोलीको साथमा रहेको र मल्लको अनुशासनलाई खेल विकासमा सदुपयोग गरिने उल्लेख गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक भिडियो सन्देश जारी गर्दै नेपाल अब क्रिकेटको ’राइजिङ पावर’ भएको दाबी गरेका छन् । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गर्दै उनले भने, “विपक्षी जतिसुकै बलियो होस्, आफूमा हीनताबोध पलाउन नदिनुहोस् । क्रिकेट हाम्रो खेल मात्र नभई प्रगतिको पहिचान र स्वाभिमान पनि हो ।“ ओलीले खेलाडीको मेहनतलाई सम्मान गर्न रंगशाला जस्ता पूर्वाधार निर्माणमा जोड दिनुपर्ने समेत बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर नेपालको झण्डा फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरेका छन् । “हरेक बल, रन र विकेटमा सम्पूर्ण नेपाल तपाईंहरूसँगै छ,“ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
