सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दूध हो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिने कार्यकालले मुलुकमा लोकतन्त्र, सुशासन र विकासको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको दाबी गर्नुभयो। उहाँले सरकार अहंकार र दम्भमा चलेको आरोप लगाउँदै यसको अवस्था ‘उम्लिएको दूध’ जस्तै भएको टिप्पणी गर्नुभयो।
‘दुई माना दूध एक पाथीको भाँडोमा तताउँदा उम्लिएर भरिएको जस्तो देखिए पनि त्यो वास्तवमा भरिएको हुँदैन, उम्लिएको मात्र हुन्छ। अहिलेको सरकारको अवस्था पनि त्यस्तै छ, यसका खुट्टा भुइँमा छैनन्,’ अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर सर्वसाधारणलाई दुःख दिएको र बालबालिकासमेत प्रभावित भएको आरोप लगाउनुभयो। मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको उल्लेख गर्दै प्रदेश प्रमुखले समय माग्दा मन्त्रीको सचिवालयबाट ‘तल्लो तहसम्म भेट्दै हिँड्न फुर्सद छैन’ भन्ने जवाफ आएको प्रसंगले सरकारको दम्भ झल्किएको उहाँको भनाइ थियो।
आर्थिक विकासका विषयमा पनि सरकारमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओलीले बजेटमा घोषणा गरिएका कार्यक्रम व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो। दैलेखको ग्यास उद्योगको व्यावसायिक उत्खनन तथा प्रशोधन प्रक्रिया अगाडि नबढ्दा मुलुकले ठूलो आर्थिक अवसर गुमाइरहेको उहाँले बताउनुभयो।
‘हामीले शिलान्यास गरेका आयोजनाहरू उद्घाटन गर्नसमेत यो सरकारलाई अप्ठ्यारो भइरहेको छ,’ उहाँले भन्नुभयो।
देशको समग्र अवस्था निराशाजनक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारमा कर्तव्यबोधको अभाव देखिएको र यही शैली कायम रहे मुलुकलाई सही दिशामा लैजान नसकिने जिकिर गर्नुभयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
