लहान–२३ मा एसईई उत्तीर्ण १५० विद्यार्थीलाई सम्मान, अभिभावकलाई पनि सामग्री वितरण
लहान, सिराहा। लहान नगरपालिका–२३ वडा कार्यालयले वडाभित्रका एसईई (माध्यमिक शिक्षा परीक्षा) उत्तीर्ण गरेका १५० भन्दा बढी विद्यार्थीलाई सम्मान गरेको छ। वडा कार्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई सम्मानपत्र, शैक्षिक सामग्री र विद्यालय ब्याग प्रदान गरियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगर प्रमुख महेश चौधरी उपस्थित रहनुभएको थियो भने उपप्रमुख रामचलितर महतो र वडा नं. २३ का अध्यक्ष बद्री नारायण यादवले पनि विद्यार्थीहरूलाई शुभकामनासहित सम्मानपत्र वितरण गर्नुभयो।
कार्यक्रममा उपस्थित हुन नसकेका विद्यार्थीहरूका लागि भने वडा कार्यालयले उनीहरूका अभिभावकमार्फत नै सम्मानपत्र, शैक्षिक सामग्री र ब्याग हस्तान्तरण गर्ने व्यवस्था मिलायो।
वडा कार्यालयका अनुसार विद्यार्थीको शैक्षिक उपलब्धिलाई कदर गर्दै भविष्यमा थप उत्साहका साथ अध्ययनतर्फ प्रेरित गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यार्थीका अभिभावक, शिक्षक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रह्यो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
