मनीष झाको 'पराजय'मा लुकेको विजय — धीरेन्द्र प्रेमाशी

शेयर गर्नुहोस् 0 Shares

— धीरेन्द्र प्रेमाशी

सन्दर्भ पुरानो भइसक्यो, तर चर्चा सेलाउन मानेको छैन। नेपाली राजनीतिको चौतारीमा यतिबेला सांसद मनीष झाको नाम उत्कर्षमै गुन्जिरहेको छ। रास्वपाको महामन्त्री पदमा उनको पराजय भयो, तर विडम्बना हेर्नुस् — पराजितको चर्चा जित्नेभन्दा बढी भइरहेको छ। प्रतिस्पर्धी मात्र होइन, विजेताको नाम समेत ओझेलमा परेको छ। यो घटनाले जनमानसमा मनीष झाप्रति रहेको असाधारण आशा र विश्वासको झलक दिन्छ।

पराजयपछि उनले देखाएको शालीनता र सहज स्वीकार्यताले उनको राजनीतिक परिपक्वतालाई झनै उज्यालो पारेको छ। तर बजार–चौतारीका केही जमघटमा यसैलाई लिएर 'खुच्चिङ'को उत्सव चलिरहेको पाइन्छ। ती खुच्चिङवादीहरूको मनभित्र पनि "यो हाम्रो मान्छे हो, यसको साख डुब्नुहुन्न" भन्ने आत्मीय भाव छुपेको छ। उनीहरूको आरोप छ — मनीषले आफ्नो मूल पहिचानभन्दा नेपालीत्वको वकालत बढी गरे, शिरमा ढाकाटोपी धारण गरेर खाँट्टी नेपाली भनाउन खोजे। तर पनि पार्टीको पहाडिया सत्ताले उनलाई महामन्त्री बन्न दिएन। यसैको भावमा 'बडो नेपाली बन्छु भन्थ्यो, आखिरमा चोक्टा खान गएकी बुढी झोलमा डुबी' भन्ने हर्षबढाइँ गरिएको देखिन्छ।

तर यी सबैको तहमा एउटा स्पष्ट भाव छ — मनीषले मधेशवादी राजनीति गरेको भए उनको मान र स्थान सुरक्षित हुन्थ्यो। यद्यपि राजनीतिको बाटो सबैको आआफ्नै हुन्छ। मधेशका हरेक राजनीतिकर्मीले मधेशकेन्द्रित दलकै शैली अपनाउनुपर्छ भन्ने अनिवार्यता छैन। पछिल्लो चुनावमा मधेशकै जनताले मधेशआश्रित दलहरूलाई विश्रामकोठामा पठाएर रास्वपालाई जनादेश दिएको तथ्य बिर्सनु हुँदैन।

हारको अर्को अनुहार

के उम्मेदवारी दिने सबैले जित्नैपर्छ? के एउटा हारले व्यक्तिको समग्र वैचारिक यात्रा समाप्त हुन्छ? मनीषविरुद्धको घेराबन्दी, रास्वपाले गुमाएको महत्त्वपूर्ण अवसर, र आमजनताले देखाएको प्रेम — यी सबैका बीच आज सर्वाधिक मन्थनको केन्द्रमा उनी नै छन्। पराजयलाई उनले जसरी ग्रहण गरे, त्यसले उनको कद थप अग्लिएको छ।

यहाँ खुसी मनाउने मधेशवादी साथीहरूले थोरै पछाडि फर्केर हेरून् — हिजो यही अस्वीकार्यताको रोगले एउटा मधेशवादी दल टुक्रँदै–थपिँदै एक दर्जन बन्न पुग्यो। सबैलाई 'अध्यक्ष वा महासचिव' चाहिने मानसिकताले विचारको धरातल नै धुलीसात गर्‍यो, त्यो इतिहास अझ ताजै छ।

आज मनीषलाई "पार्टी फुटाइदेऊ, आफ्नो क्षमता देखाइदेऊ" भनेर उक्साउने आशयका शब्द हान्नु सजिलो छ, तर परिपक्व विचार कदापि होइन। 'खसवादी सत्ताले लोप्र्याइदियो' भन्दै उनलाई उल्याउनु मनभित्र भएको आत्मीयताको सही अभिव्यक्ति होइन।

एउटा कुरा रास्वपाले पनि बुझोस् — यस प्रकरणलाई 'राजनीतिक क्षतिपूर्ति'को रूपमा लिएर मनोनीत मधेशीको पत्ता नफालोस्। त्यसले स्वाभाविक रूपमा उम्रेको लहरालाई काटेर प्लास्टिकको हरियाली फिँजाउन खोजेको देखिनेछ।

लोकतन्त्रको पाठ

जित र हार लोकतन्त्रका स्वाभाविक अंग हुन्। जित्ने विश्वास जति जरुरी छ, हार पचाएर पुनर्ऊर्जा ग्रहण गर्ने सामर्थ्य त्यति नै अनिवार्य छ। मधेशवादी दलहरूले हिजो यो सत्य स्वीकार गरेको भए आज हामी तिनकै 'होस्टेमा हैँसे' गर्दै हुन्थ्यौँ — कुन नेताले हार्‍यो वा जित्यो भन्ने खुद्रे बहसमा अल्झिरहने फुर्सद हामीलाई हुने थिएन।

मनीष झाको यो हार — वास्तवमा एउटा फरक कोणको विजय हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्