रास्वपा महाधिवेशन सम्पन्न: 'अब अपरिपक्व हुने छुट छैन, देशको शासन व्यवस्था चलाउने गरी अघि बढ्छौँ'— सभापति लामिछाने
चितवन, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त वैधानिकतासँगै पार्टी अब थप परिपक्व र जिम्मेवार बनेको उद्घोष गर्नुभएको छ । चितवनको भरतपुरमा आयोजित महाधिवेशनको समापन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले रास्वपा अब केवल वैकल्पिक शक्ति मात्र नभई देशको शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा स्थापित भएको दाबी गर्नुभयो ।
नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र अग्रजहरूको योगदानको स्मरण गर्दै सभापति लामिछानेले व्यवस्था परिवर्तनको चरण सकिएकाले अब प्राप्त उपलब्धिको जगमा जनताको अवस्था परिवर्तन गर्न आफूहरू तयार हुनुपर्नेमा जोड दिनुभयो ।
संगठन निर्माणका कमीकमजोरी सच्याइने
पार्टी स्थापनाको छोटो अवधिमा कैयौँ राजनीतिक उतारचढाव झेल्नुपरेका कारण संगठन निर्माणका कतिपय काम अधुरै रहेको उहाँले स्वीकार गर्नुभयो । विगत चार वर्षमा नियमित बैठक, आन्तरिक प्रशिक्षण र सदस्यता विस्तारमा सोचेजस्तो समय दिन नसकिएको भन्दै उहाँले आगामी दिनमा ती कमीकमजोरीहरूलाई सच्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
"हामीलाई समय दिइएन, अनेक राजनीतिक घटनाक्रमहरू भए । तर अब यो ऐतिहासिक महाधिवेशनबाट वैधानिकता प्राप्त गरेपछि रास्वपा देशकै सबैभन्दा ठूलो र जिम्मेवार शक्ति भएर अगाडि बढ्नेछ," लामिछानेले भन्नुभयो ।
आन्तरिक लोकतन्त्र बलियो भएको दाबी
पदाधिकारी चयनमा सर्वसम्मति खोज्ने प्रयास भएपनि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन हुनुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको उहाँको तर्क थियो । निर्वाचनमा हार र जित क्षणिक हुने उल्लेख गर्दै उहाँले जित्ने र नतिजा आफ्नो पक्षमा पार्न नसक्ने दुवै रास्वपाकै 'नीलो योद्धा' भएको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनका क्रममा भएका प्रतिस्पर्धा र सानातिना मनमुटावलाई विसर्जन गरेर एक ढिक्का हुन सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
'विचारविहीन' को आरोप खारेज
रास्वपामाथि लाग्दै आएको ‘विचारविहीन र सिद्धान्तहीन’ दलको आरोपलाई यो महाधिवेशनले पूर्ण रूपमा खारेज गरिदिएको सभापति लामिछानेले बताउनुभयो । विपक्षीहरूले प्रतिशोधका कारण पार्टीका दस्तावेज र नीतिहरू नपढेको आरोप लगाउँदै उहाँले यो महाधिवेशनले रास्वपाको राजनीतिक र वैचारिक धरातललाई स्पष्ट पारेको दाबी गर्नुभयो ।
व्यवहारमा परिपक्वता र संस्थागत मर्यादाको पालना
आफू र दलमाथि लाग्ने गरेको ’अपरिपक्वता’ को आरोपबारे बोल्दै लामिछानेले परिस्थितिले अब आफूहरूलाई अपरिपक्व हुने छुट नदिएको स्पष्ट पार्नुभयो । संसदीय अभ्यास र सार्वजनिक अभिव्यक्तिहरूमा अझ बढी गम्भीरता र परिपक्वता देखाउने उहाँको भनाइ थियो ।
लोकतन्त्रका संस्थाहरूलाई भत्किन नदिने र शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कुनै पनि तहका नेता वा सांसदले ‘रेड लाइन’ क्रस गर्न नपाउने चेतावनी दिनुभयो ।
‘जान्नेलाई छान्ने’ बाट ‘जान्ने बनाई छान्ने’ नीति
पार्टीको चर्चित नारा ‘जान्नेलाई छान्ने’ को सन्दर्भ उल्लेख गर्दै लामिछानेले अब पार्टीले आफ्ना कार्यकर्ताहरूलाई ‘जान्ने बनाई छान्ने’ र काम नगर्नेहरूलाई विधिबाट बिदा गर्ने नीति लिने प्रस्ट पार्नुभयो । हिजो उम्मेदवार खोज्नुपर्ने अवस्थाबाट आज उम्मेदवार व्यवस्थापन गर्नुपर्ने अवस्थामा आइपुग्नु पार्टीको सफलता भएको उहाँको विश्लेषण थियो ।
सञ्चार क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्ध
कार्यव्यस्तताका कारण हालैका दिनमा अन्तर्वार्ताहरूमा समय दिन नसकेको भएपनि आफू सञ्चारकर्मीका प्रश्नहरूबाट कहिल्यै नभागेको उहाँले स्पष्ट पार्नुभयो । साथै, नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकास कूटनीति र वैदेशिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन रास्वपा प्रतिवद्ध रहेको सन्देश उहाँले अन्तर्राष्ट्रिय जगतलाई दिनुभयो ।
महाधिवेशनका क्रममा तीन दिनका लागि आएका प्रतिनिधिहरू साताभर बस्नुपर्दा परेको आर्थिक भारप्रति सहानुभूति प्रकट गर्दै सभापति लामिछानेले पार्टीको फण्ड कार्यकर्ताहरूकै हित र दुःखमा खर्च गरिने घोषणा समेत गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
