नेटो शिखर सम्मेलन: अंकाराको जनजीवन अस्तव्यस्त

७० हजार सुरक्षाकर्मी परिचालन, सभा-जुलुसमा पूर्ण प्रतिवन्ध

शेयर गर्नुहोस् 0 Shares

१३ असारः टर्कीको राजधानी अंकारामा जुलाई ७ र ८ तारिखमा हुने नेटो शिखर सम्मेलनको तयारीसँगै शहरको सामान्य जनजीवन प्रभावित बनेको छ । नेटोका ३२ सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुने यो सम्मेलन अंकाराले आयोजना गरेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हुनेछ ।
सम्मेलनको सुरक्षाका लागि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । अंकारा गभर्नरको कार्यालयले जुन २८ देखि जुलाई १० सम्म शहरमा सबै प्रकारका सभा, जुलुस, धर्ना, र्‍याली, कन्सर्ट, मेला तथा ठूला सार्वजनिक जमघटमा पूर्ण प्रतिवन्ध लगाएको छ ।
सम्मेलन स्थल, विदेशी प्रतिनिधि बस्ने होटल र मुख्य यातायात मार्गमा व्यापक ट्राफिक नियन्त्रण लागू छ । यसले ५० लाखभन्दा बढी जनसङ्ख्या रहेको अंकाराका व्यवसायी र आम नागरिकलाई थप मर्काको अवस्था सिर्जना गरेको छ ।
स्थानीय बासिन्दाहरूले सुरक्षाका नाममा गरिएका यी प्रतिवन्धलाई 'अत्यधिक र अनावश्यक' भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मध्यपूर्व प्राविधिक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार यस्ता प्रतिवन्धले नागरिकको हिँडडुल मात्र नभई स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकतामा पहुँचसमेत अवरुद्ध गरेको छ ।
उडान रद्द भएको र आवतजावतमा कठिनाइ भोग्नुपरेको गुनासो गर्दै स्थानीयले यो अवस्थालाई नागरिक अधिकारको संकुचनका रूपमा समेत हेरेका छन् । तथापि सरकारले उच्चस्तरीय अन्तर्राष्ट्रिय कार्यक्रमको संवेदनशीलतालाई ध्यानमा राखी यस्तो कदम चालिएको बताएको छ ।

स्रोत: न्युज एजेन्सी नेपाल / सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्