सरकारका नीति र निर्णय जनहितविपरीत, सदन र सडक दुवै मोर्चाबाट आवाज उठाउँछौँ: संयोजक दाहाल
काठमाडौँ, ५ असार / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारका क्रियाकलाप, नीति तथा निर्णयहरू जनहितविपरीत रहेको टिप्पणी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले सरकारका कदमहरू मजदुर र किसानको हित अनुकूल नरहेको दाबी गर्नुभयो।
संयोजक दाहालले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य हालैका निर्णयहरूले सरकार श्रमिक वर्गको विपक्षमा उभिएको स्पष्ट पारेको आरोप लगाउनुभयो। "सरकारको नीति, बजेट र अरू सबै निर्णयहरूले यो सरकार नेपालका गरिब, मजदुर, किसान र उत्पीडित समुदायको विरुद्धमा छ भन्ने कुरा प्रष्ट पारेको छ," उहाँले भन्नुभयो, "सरकार केवल उच्च वर्गको हित संरक्षण गर्न केन्द्रित देखिएको छ।"
सदन र सडकबाट प्रतिवादको तयारी
संयोजक दाहालले सरकारको श्रमिक वर्गविरोधी र जनताका मौलिक एवं ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपविरुद्ध आफ्नो पार्टीले सबै मोर्चाबाट आवाज उठाउने बताउनुभयो। उहाँले यसका लागि सदन र सडक दुवैतर्फबाट सशक्त विरोधका कार्यक्रम अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो।
सदनमा सरकारका जनविरोधी नीतिविरुद्ध साझा धारणा बनाउनका लागि सम्पूर्ण प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, "हामी बिस्तारै सडक र सदन दुवै ठाउँबाट आवाज उठाउन कोसिस अगाडि बढाइरहेका छौँ। सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा ल्याउने हाम्रो प्रयास जारी छ र यी विषयवस्तुलाई सडकसम्म पुर्याउनु आवश्यक छ।"
स्थापित दलहरूलाई कमजोर पार्ने षड्यन्त्र
आफ्नो सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लामो संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने खेल भइरहेको आरोप समेत लगाउनुभयो। प्रतिक्रियावादी शक्तिहरूले राजनीतिक दलहरूभित्र विभाजन, आन्तरिक कलह र भ्रम सिर्जना गरेर फाइदा उठाउन खोजेको उहाँको तर्क थियो।
"लोकतन्त्र र गणतन्त्रका लागि लडेका पार्टीहरूलाई कमजोर बनाउने, विभाजित गर्ने र उनीहरूभित्र अन्तरकलह पैदा गर्ने षड्यन्त्र भइरहेको छ," दाहालले थप्नुभयो। यद्यपि, सरकारका यस्ता गतिविधि र षड्यन्त्रबारे जनता बिस्तारै सचेत हुँदै गएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
