बाह्रौँ चुरे संरक्षण दिवसको अवसरमा वृक्षारोपण, स्थानीयले संरक्षणसँगै पूर्वाधार विकासको माग गरे

शेयर गर्नुहोस् 0 Shares

ओम प्रकाश यादव लहान, असार २ . "चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई" भन्ने मूल नाराका साथ बाह्रौँ चुरे संरक्षण दिवस–२०८३ को अवसरमा सिरहाको धनगढीमाई नगरपालिका–१२ विष्णुपुरकट्टीस्थित सिमलटोकी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण तथा संरक्षण सचेतना कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाइ सलकपुर, मोरङ को आयोजनामा तथा सिमलटोकी सामुदायिक वन उपभोक्ता समूह को सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न जातका बिरुवा रोपेर चुरे संरक्षणको सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता समूहकी सदस्य रामकुमारी महतो ले स्थानीय बासिन्दाले आफ्नो क्षमताअनुसार वन तथा वातावरण संरक्षण गर्दै आएको बताइन्। उनले संरक्षण कार्यमा समुदाय सधैँ अग्रसर रहे पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिन्।

"हामीले सकेजति संरक्षण गरिरहेका छौं। तर यहाँका नागरिकका लागि छठ पर्व मनाउन एउटा व्यवस्थित छठ घाट निर्माण गरिदिए हामी आभारी हुने थियौं," उनले भनिन्। उनले नदिको तीब्र कटानका कारण स्थानीयको उब्जाउ जमिनसँगै सामुदायिक वन क्षेत्र समेत जोखिममा पर्दै गएको उल्लेख गर्दै संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताइन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन श्री हिमालय माध्यमिक विद्यालय, सिमलटोकी का छात्रछात्राहरूले गीत, संगीत, कविता तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले वातावरणीय संरक्षणप्रति जनचेतना फैलाउनुका साथै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको सहभागीहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्