आयुर्वेद र योगबाट सस्तो र दीर्घकालीन स्वास्थ्य सेवा सम्भव छ — उपराष्ट्रपति यादव
त्रिभुवन विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीमा परम्परागत र आधुनिक चिकित्सा पद्धतिबीच सहकार्यको आग्रह
काठमाडौं , २२ जेठः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग र ध्यानलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोड्दा नागरिकलाई सस्तो र दीर्घकालीन स्वास्थ्य सेवा दिन सकिने बताए।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा शुक्रबार 'ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर'ले आयोजना गरेको अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन गर्दै उपराष्ट्रपतिले परम्परागत र आधुनिक उपचार पद्धतिबीच सहकार्यको आवश्यकता औंल्याए।
"विद्यालय, समुदाय र कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्नुपर्छ। ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेद र योगलाई प्राथमिकतामा राख्नु आवश्यक छ।"
— उपराष्ट्रपति रामसहाय प्रसाद यादव
उहाँले योगले जीवनशैलीजन्य रोग नियन्त्रणमा र ध्यानले मानसिक स्वास्थ्य तथा सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, आयुर्वेदलाई स्थानीय जडीबुटी र परम्परागत ज्ञानमा आधारित प्रभावकारी उपचार प्रणालीको रूपमा चिनाए।
नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले परम्परागत उपचार पद्धतिलाई प्रवर्धन गर्ने सरकारी नीतिलाई दूरदर्शी र सकारात्मक कदम भने।
विश्वव्यापी महामारी, मानसिक तनाव र जलवायु परिवर्तनजस्ता चुनौतीको सामना गर्न परम्परागत र आधुनिक विज्ञानबीच अनुसन्धान सहकार्य जरुरी रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
