दुग्ध किसानका लागि खुल्यो दूध संकलन केन्द्र

अमृतपान सहकारीसँगको साझेदारीमा स्थापना भयो केन्द्र; ५ सय बढी किसान लाभान्वित हुने, ४०० जनालाई किसान कार्डमार्फत अनुदान!

शेयर गर्नुहोस् 0 Shares

लहान, सिरहा 

लहान नगरपालिकाका दुग्ध उत्पादक किसानहरूलाई लक्षित गरी वडा नं. १८ विसनपुरमा आधुनिक दूध संकलन केन्द्र सञ्चालनमा आएको छ। किसानहरूले उत्पादन गरेको दूधलाई स्थानीयस्तरमै बजारिकरण र सुरक्षित भण्डारण गर्ने उद्देश्यले ५ सय लिटर क्षमताको 'दूध चिलिङ्ग भ्याट मेसिन' सहितको केन्द्र स्थापना गरिएको हो।

लहान नगरपालिकाको संरक्षण परियोजना र अमृतपान कृषि सहकारी संस्थाको ८०–२० प्रतिशतको लागत साझेदारीमा यो केन्द्र सञ्चालनमा ल्याइएको हो। कुल १२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको यस केन्द्रका लागि सहकारीले २० प्रतिशत रकम व्यहोरेको छ।

प्रविधि र सामग्रीमा सहयोग

केन्द्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन स्वचालित दूध एनालाइजर मेसिन, जेनेरेटर, स्टेबलाइजर, दूध परीक्षण किट, संकलनका लागि आवश्यक भाँडाकुँडा र पशुका लागि आवश्यक क्याल्सियम लगायतका सामग्रीहरू समेत सहयोग उपलब्ध गराइएको छ।

यसका साथै, नगरपालिकाले सहकारीलाई थप सबल बनाउन ५ लाख रुपैयाँ अनुदान दिएर 'सामुदायिक बीउ बैंक' को समेत स्थापना गराएको छ।

ग्रामीण अर्थतन्त्रमा सुधारको अपेक्षा

परियोजनाको उद्घाटन गर्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले यो प्रयासले ग्रामीण स्वरोजगार र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। "यस केन्द्रबाट यस भेगका ५ सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुने आकलन गरेका छौँ," मेयर चौधरीले भन्नुभयो।

किसान कार्ड र बहुपक्षीय साझेदारी

संरक्षण परियोजना अन्तर्गत नै यस क्षेत्रका ४०० जना किसानलाई प्रतिव्यक्ति ३५ हजार रुपैयाँका दरले किसान कार्डमार्फत अनुदान रकम समेत वितरण गरिएको छ। अनुदान पाउनेमध्ये १५० जना किसानहरू व्यावसायिक दूध उत्पादनमा सक्रिय भइसकेका छन्। अब उनीहरूले उत्पादन गरेको दूध यही केन्द्रमार्फत खरिद–बिक्री हुनेछ।

मुतनी खोला आसपासका वडा नं. १५ र १८ का कृषकहरूको आयआर्जन सुधार गर्न यो संरक्षण परियोजना सञ्चालन गरिएको हो। यस अन्तर्गत १५ वटा कृषक समूह र ९ वटा सामुदायिक वनहरूसँग मिलेर कृषि, वन र पशुपालनको क्षेत्रमा व्यापक काम भइरहेको छ। यस बृहत् परियोजनामा लहान नगरपालिकासँगै राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, केयर नेपाल र जर्सी ओभरसिजले प्राविधिक तथा आर्थिक सहयोग गरिरहेका छन्।

Photo :- Shambhu Yadav

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्