मुसहर बस्तीकी ललिताको शिक्षक बन्ने सपना
महोत्तरी, १ जेठः “अब विद्यालयको शिक्षक बन्ने सपना छ, त्यसका लागि मेहिनत गर्छु”, गत सोमबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिणामपछि उत्साहित बर्दिवास नगरपालिका-१४ मुसहर बस्तीकी ३० वर्षीया ललिता सदा मुसहरले भन्नुभयो, “एसइई उत्तीर्ण गरेँ, अब आफू पढेकै बर्दिवास-२ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन सक्छु ।”
पढ्ने र पछि शिक्षक भएर शिक्षाको अवसरबाट पछि परेका मुसहर जाति तथा विपन्न समुदायलाई विद्यालय जान उत्प्रेरित गर्ने आफ्नो सपना रहेको उहाँले सुनाउनुभयो । “बाबु, आमा र पति सबै निरक्षर ! मधेसमा अत्यन्त पछि परेको जाति र समुदाय हो मुसहर । घरमा पतिसहित दुई छोरा छन्”, उहाँले भन्नुभयो ।
यी कुनै बन्धनले ललिताको पढ्ने रहरलाई अहिलेसम्म छेक्न सकेन । ज्यालामजदुरी गरेर जीविका धान्ने आममुसहर जस्तै ललिताको पनि जीवन पनि त्यस्तै छ । कलिलै उमेरमा विवाह गरेकी ललिताका १४ र १२ वर्षका दुई छोरा छन् । जेठा ब्रह्मदेव छ कक्षा र कान्छा रोहन पाँच कक्षामा पढ्छन् ।
विद्यालयमा १० कक्षा पढुञ्जेल बिहानको एक लगनी काम गरी दुवै छोरालाई सँगै लिएर विद्यालय जाने गर्नुभएकी ललिताले यसपालि एसइई उत्तीर्ण हुनु आफ्नो मेहनत र सङ्कल्पको फल भएको बताउनुभयो । माइतमा घरजम गरेर बसेकी उहाँलाई प्रत्येक वर्षजसो हुने विद्यालय भर्ना अभियानमा जोडिएर पढ्न जान थालेको सम्झना छ ।
नियमित विद्यालय जाँदा अरुले झै ‘म पनि पढ्छु र मेहनत गर्छु’ भन्ने इच्छा जागेर पढाइलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “पहिलो मेरै सङ्कल्प हो, अनि विद्यालयका गुरुजन र घरमा पतिको साथ र समर्थन पाएँ”, ललिताले भन्नुभयो, “त्यसपछि झन् चासोे राख्ने र पढ्ने आँटभरोस दिनेहरू बढ्न थालेपछि सहज हुँदै गयो ।”
जिल्लामै स्नातकोत्तर गर्ने बस्तीका पहिलो मुसहर मञ्जय सदाले सधैँ पढ्न हौसला दिने गर्नुभएको लतिलाले अनुभव सुनाउनुभयो । उहाँकै हौसलाले पढाइलाई निरन्तरता दिँदै एसइई उत्तीर्ण भएको उहाँको भनाइ छ ।
बस्तीसँगै जोडिएको विद्यालय भएपनि यहाँका मुसहर पढ्ने विषयमा आफ्नो भएको नठान्ने ललिताले बताउनुभयो । “विसं २०७३ मा सरसफाइ सचेतना अभियानका क्रममा हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिवास-१४ को मुसहर बस्ती पुगेपछि यसले रुप फेर्ने अवसर भेट्यो । त्यसपछि विस्तारै बस्तीका मानिसको सोच परिवर्तन हुँदै गएको होे”, उहाँले भन्नुभयो ।
बस्तीको गरिबी र अशिक्षाले द्रवित भएका कलाकार दम्पत्तिले धुर्मुस-सुन्तली फाउण्डेशनका माध्यमबाट नमूना बस्ती बनाएर एक वर्षभित्रै शौचालय, धारा र बिजुलीसहित सुविधासम्पन्न पक्की ५० मुसहर परिवारलाई घर हस्तान्तरण गरेसँगै सचेतना अभियानको प्रभावले यहाँका बासिन्दा शैक्षिक, सामाजिक र आर्थिक गतिविधिमा सरिक हुन थालेका उहाँले बताउनुभयो ।
ललिताका अनुसार अहिले बढ्दै गएर यहाँ करिब ८० परिवार मुसहर छन् । बस्तीमा उच्च शिक्षा (स्नातकोत्तर) गर्ने मञ्जय जिल्लाकै पहिलो मुसहर र ललिता माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने बस्तीकी पहिलो महिला बन्नुभएको छ । “म मात्र पढ्न जाने भन्ने होइन ! बस्तीका आम बालबालिकालाई डोर्याएर विद्यालय लाने गरेकी छु”, ललिताले भन्नुभयो, “अहिले बस्तीबाट ७० जनाभन्दा बढी बालबालिका विद्यालय जाँदैछन् । यिनीहरूको पढाइ निरन्तरताका लागि मञ्जय र म सधैँ घरघर पुग्ने गरेका छौँ ।”
बस्तीका बालबालिकामध्ये चार जना कक्षा-८ मा, एक जना कक्षा-७ मा र अरु ५ कक्षा मुनिका रहेका उहाँले जानकारी दिनुभयो । विद्यालय जाने बालबालिकामा छोरीको सङ्ख्या ५० भन्दा बढी रहेको उहाँको भनाइ छ ।
शिक्षामा बढेको यो जागरणसँगै यहाँका बासिन्दा अब आर्थिक गतिविधिमा सरिक हुँदै आम्दानीको केही रकम सञ्चय गर्ने, अस्पताल जाने र आफ्ना समस्याबारे नगर र वडा कार्यालयमा पुगेर जनप्रतिनिधिसँग छलफल गर्ने गरेका बस्तीका शैक्षिक अभियानी मञ्जय सदाले बताउनुभयो ।
यसैगरी ललिताले अब बालविवाह जस्तो सामाजिक कुप्रथा विरुद्ध जनमत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “१५ वर्ष नपुग्दै धेरैजसोले विवाह गर्छन् । २० वर्ष नपुग्दै दुई-तीन वटा सन्तानको आमा बन्छन्”, यसै परिवेशबाट गुज्रेकी उहाँले भन्नुभयो, “यो चलन हाम्रो व्यक्ति र जातिमा समाज विकासको बाधक बनेको छ ।” कम उमेरमै आमा बनेपछि अनेकौँ स्वास्थ्य समस्याले मुसहर समुदायका महिलाको अवस्था नाजूक बनेको उहाँको ठम्याइ छ ।
अहिले ललिताको अगाडिको पढाइका बारेमा विद्यालय र वरपरका समाजले चासो लिएका छन् । “उहाँको पढाइमा हामी सकेको मद्दत गर्छौँ”, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तोपबहादुर ठकुरीले भन्नुभयो, “ललिता अनुशासित र मेहनती हुनुहुन्छ र सिकाइलाई व्यवहारमा उतार्नसक्ने क्षमता राख्नुहुन्छ ।”
बर्दिवास-१४ को बस्ती धुर्मुस-सुन्तलीले फेरि दिए पनि आमरूपमा बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका परालका छानाका झुप्रा आममुसहरको घरसंसारका रूपमा देखिन्छ । मुसहरका लागि ‘कमाइ ल्यायो, भुटी खायो’ भन्ने भनाइ प्रचलित छ ।
मुख्यत कृषि तथा मजदुरी पेसामा आवद्ध मुसहर बास्तीका नागरिक बिहान मजदुरी गर्ने र दिउँसो घोङी (सङ्खे कीराजस्तो मुसहरको खास परिकार), मुसा र माछा मार्न जाने गर्दछन् । भोलि के खाने भन्ने र भविष्यलाई सञ्चय गर्नुपर्छ भन्ने निश्चित नहुँदा आफ्नो जातिका लागि ‘कमाइ ल्यायो, भुटी खायो’ भन्ने भनाइ अहिलेसम्म चलिआएको यहाँका ज्येष्ठ मुसहर बताउँछन् । अब भने यो अवस्था फेर्नै पर्ने ललिताको अठोट छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहका सबैजसो बस्तीमा धेरथोर बसोबास गरिरहेका मुसहरका घर जोसुकैले सहजै ठम्याउँछन् । भिक्राका भित्ता, बाँसका खाँबा र पराले छानाका गुजुमुज्ज भुप्रा देखिएपछि अपरिचित जोसुकैले मुसहर बस्ती रहेछ भन्ने ठम्याउन सक्छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा २७ हजार ३५२ मुसहरको जनसङ्ख्या छ । यो जिल्लाको कूल जनसङ्ख्या सात लाख छ हजार ९९४ को लगभग तीन दशमलव ८७ प्रतिशत हिस्सा हो । अहिले पाँच वर्षपछि उक्त जनसङ्ख्या ३० हजारको हाराहारी पुगे पनि यो जाति समुदाय शिक्षामा पछि रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय महोत्तरीका प्रमुख निर्मल घिमिरेले बताउनुभयो । यो जाति समुदायबाट उच्च शिक्षा लिने र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या हातकै औँलाबाट गणना हुने उहाँको भनाइ छ ।
मुसहर समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन विशेष पहलकदमी हुनपर्ने माग स्थानीयस्तरमा बढेको समन्वय एकाइ कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । यो समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन सम्बन्भित स्थानीय तहले बस्तीबस्तीमा अतिरिक्त शिक्षाको प्रबन्ध गर्नुपर्ने मुसहर समुदायका अगुवा बताउँछन् ।
“अब बालबालिकालाई पढाउनु पर्छभन्ने चेतनाको विकास भएको छ”, बर्दिवास-१४ को नमूना मुसहर बस्तीका शैक्षिक अभियानी मञ्जयले भन्नुभयो, “विद्यालयमा नाम लेखाए पनि पढाइमा आपूm निकै कमजोर रहेको हीन भावनाले मुसहर बालबालिका विद्यालय छाड्ने गरेका छन् ।” यो अवस्था अन्त्यका लागि मुसहर बस्तीमा स्थानीय तहले अतिरिक्त कक्षा सञ्चालन गरेमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी विद्यालयमा पाँच कक्षासम्मलाई दिवाखाजाको व्यवस्था भएपनि त्योभन्दा माथि कक्षाका बालबालिका भोक थेग्न नसकेर घर भाग्ने गरेका मञ्जयले बताउनुभयो । “एक दिन बनी गर्न नगए भरे भोकै परिने चिन्ता विद्यमान छ, बाबुआमा खाजा खाने पैसा दिन सक्दैनन्”, उहाँले भन्नुभयो, “यो समुदायलाई शिक्षासहित विकासका मूलप्रवाहमा ल्याउने हो भने थप प्रयत्न गर्नुपर्ने देखिन्छ । यसको पहलकदमी स्थानीय तहले लिनुपर्छ ।” यो व्यवस्था कम गर्नसके मुसहर बालबालिकामा गुणात्मक सुधार आउने उहाँको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
