वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ

शेयर गर्नुहोस् 0 Shares

काठमाडौँ, ८ वैशाख : वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन जना बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिइएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१३ स्थित विभागबाट सेवाग्राहीलाई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङ घर भई हाल सामाखुसी बस्ने ५३ वर्षीय किशोरप्रसाद श्रेष्ठ, सिन्धुपाल्चोक घर भई हाल बालाजु बस्ने ३४ वर्षीय विजय लामा र नुवाकोट घर भई हाल कलङ्की बस्ने ३८ वर्षीय सागर लामालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । यसैबीच, काठमाडौँ प्रहरीले बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, लागुऔषध, हाडनाता करणीलगायत विभिन्न मुद्दामा फरार २६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका कार्यालयबाट खटिइएका प्रहरी टोलीले २१ पुरुष र पाँच महिलालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई विभिन्न अदालतबाट चार वर्ष १० महिना ११ दिन कैद र रु १२ लाख ९१ हजारभन्दा बढी जरिवाना ठहर भएको थियो ।

ट्यागहरू: Main Heading Two अपराध

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्