हुलाकी सडकमा दुर्घटना: तीन घाइते, ट्राफिकको चेतावनी सडक सुरक्षामा अब लापरवाही अस्वीकार्य
रहमुल, सिरहा २३ चैत्र : सिरहाको भगवानपुर गाउँपालिका अन्तर्गत पर्ने हुलाकी सडकखण्डमा मोटरसाइकल र विद्यार्थी बोकेको सिटी सफारीबीच ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा एक महिला र दुई विद्यार्थी घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घाइतेहरूलाई तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ भने उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
यस घटनाले हुलाकी सडकखण्डमा बढ्दो सवारी दुर्घटनाको जोखिमलाई पुनः सतहमा ल्याएको छ। विशेषगरी विद्यालय समयतिर हुने अत्यधिक भीडभाड, सवारी साधनको लापरवाही तथा सडक सुरक्षाको कमजोर व्यवस्थापनका कारण यस्ता दुर्घटनाहरू दोहोरिँदै आएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान सिरहाले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ। कार्यालयका अनुसार सवारी चालकले तोकिएको गति सीमा अनिवार्य रूपमा पालना गर्नुपर्छ भने विद्यालय आसपास क्षेत्रमा सवारी चलाउँदा विशेष सतर्कता आवश्यक हुन्छ। मोटरसाइकल चालकले हेलमेट अनिवार्य प्रयोग गर्नुपर्ने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्नुपर्ने तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, सम्बन्धित निकायहरूले नियमित अनुगमन कडा पार्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटना केवल एउटा सामान्य घटना नभई जनस्वास्थ्य र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको गम्भीर विषय हो।
सवारी चालक, यात्रु तथा सम्बन्धित निकाय सबै जिम्मेवार र सचेत बन्न सके मात्र यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न सकिने ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
