सडक निर्माण ढिलासुस्ती विरुद्ध लहानमा चक्काजाम, व्यवसायी आन्दोलित

शेयर गर्नुहोस् 0 Shares

लहान, चैत्र २० : सिराहा जिल्लाको लहान नगरपालिका क्षेत्रमा पर्ने कमला–कञ्चनपुर सडक खण्डको निर्माण कार्यमा भएको चरम ढिलासुस्ती विरुद्ध स्थानीय उद्योगी तथा व्यवसायीहरू आन्दोलित भएका छन्।

लामो समयदेखि सडक निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढेको भन्दै उनीहरूले शुक्रबार चक्काजाम गर्दै विरोध प्रदर्शन गरेका हुन्।

निर्माणाधीन सडकमा उड्ने अत्यधिक धुलो, हिलो तथा अव्यवस्थित अवस्थाका कारण स्थानीयको दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। विशेषगरी व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर परेको भन्दै व्यवसायीहरूले आक्रोश व्यक्त गरेका छन्। सडकको दयनीय अवस्थाका कारण ग्राहक आवतजावत घट्नुका साथै स्वास्थ्यसम्बन्धी समस्या समेत बढ्दै गएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार वर्षौंदेखि निर्माण कार्य जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन। सम्बन्धित ठेकेदार कम्पनी तथा सरोकारवाला निकायको बेवास्ताका कारण समस्या झन् जटिल बन्दै गएको उनीहरूले बताएका छन्।

विरोध कार्यक्रममा सहभागीहरूले सडक छिटो सम्पन्न गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। मागप्रति बेवास्ता गरिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।

स्थानीय प्रशासनले भने आन्दोलनका विषयमा चासो लिँदै समस्या समाधानका लागि पहल गर्ने जनाएको छ। यद्यपि, दीर्घकालीन समाधानका लागि निर्माण कार्यलाई तीव्रता दिन आवश्यक रहेको स्थानीयको जोड छ।

ट्यागहरू: Main Heading Two समाज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्