लहानमा शिक्षक आन्दोलन: तलब निकासा माग्दै ३ दिने अल्टिमेटम
सिरहा — लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले तलबसहित विभिन्न शीर्षकको रकम निकासा गर्न माग गर्दै आन्दोलन थालेका छन्।
आइतबार शिक्षकहरूले इलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरी ज्ञापनपत्र बुझाएका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादका कारण मन्त्रालयले नगरपालिकाको खाता रोक्का गरेपछि पुस महिनादेखि शिक्षक तथा कर्मचारीले तलब पाउन नसकेको अवस्था छ।
शिक्षक प्रतिनिधि नारायण प्रसाद साहले तीन दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनका अनुसार तलब–भत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान तथा स्वयंसेवक शिक्षकको पारिश्रमिक रोकिँदा आगामी शैक्षिक सत्र नै प्रभावित हुने जोखिम बढेको छ।
तलब नआउँदा दैनिक जीवनयापन, बालबालिकाको शिक्षाशुल्क र बैंक ऋणको ब्याज तिर्न समस्या भइरहेको शिक्षकहरूको भनाइ छ। यसअघि नगरपालिकाका कर्मचारीहरूले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाइसकेका छन्।
प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवा विवादले समस्या झन् जटिल बनेको छ। मन्त्रालयले खिम भुजेललाई सरुवा गरेर पठाएपछि झाले सरुवा नियमविपरीत भएको भन्दै प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले हालसम्म खाता फुकुवा गरेको छैन।
खाता रोक्का रहँदा नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै बनेको छ।
स्रोतका अनुसार उपप्रमुख राम चलितर महतोको पहलमा सरुवा प्रक्रिया अघि बढाइएको आरोप लागिरहेको छ। महतोले आफ्नो अनुकूल प्रशासकीय प्रमुख ल्याउन प्रयास गरिरहेको दाबी समेत गरिएको छ।
नगर प्रमुख महेश चौधरीले प्रशासकीय विवादका कारण दैनिक कामकाज प्रभावित भएको बताएका छन्। उनले खाता रोक्का राख्नुको ठोस कारण नभएको उल्लेख गर्दै राजनीतिक दबाबका कारण समस्या सिर्जना भएको आरोप लगाए।
उनले मन्त्रालयलाई चाँडो निकास दिन आग्रह गर्दै विकास निर्माणका काम अघि बढाउन ढिलाइ भइरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
