लहानमा फोहोर व्यवस्थापनमा कडाइ: जथाभावी फाल्नेलाई रु. ११०० जरिवाना, आजदेखि लागू

शेयर गर्नुहोस् 0 Shares

लहान, चैत १५ —लहान नगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन जथाभावी फोहोर फाल्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्दै जरिवाना व्यवस्था लागू गरेको छ। नगरकार्यपालिकाको निर्णयअनुसार अबदेखि नियम उल्लंघन गर्ने व्यक्तिलाई रु. ११०० सम्म जरिवाना गरिनेछ।

नगरपालिका क्षेत्रभित्र दैनिक रूपमा सरसफाइ अभियान सञ्चालन भइरहे पनि अझै विभिन्न स्थानमा अव्यवस्थित रूपमा फोहोर फाल्ने समस्या कायम रहेपछि यस्तो निर्णय लिनुपरेको जनाइएको छ। नगरपालिकाका अनुसार चेतना अभाव र लापरवाहीका कारण सडक, सार्वजनिक स्थल तथा खाली ठाउँमा फोहोर फाल्ने क्रम रोकिएको छैन।

अबदेखि पानीका बोतल, सुर्तीजन्य पदार्थका खोल, चाउचाउ तथा बिस्कुटका खोल, सिसाजन्य सामग्री, प्लास्टिकका झोलालगायत घरबाट निस्किने कुनै पनि प्रकारका फोहोर जथाभावी फालिएको पाइएमा तत्काल कारबाही गरिनेछ। अनुगमन टोली परिचालन गरेर नियम कार्यान्वयनलाई कडाइका साथ लागू गरिने पनि नगरपालिकाले जनाएको छ।

त्यसैगरी, फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन नगरपालिकाले ट्याक्टर तथा भ्यानमार्फत नियमित संकलन प्रणाली सञ्चालन गरिरहेको छ। तोकिएको समय र स्थानमै फोहोर राख्न सबै नगरवासीलाई आग्रह गरिएको छ।

नगरपालिकाले ‘स्वच्छ, सफा र सुन्दर लहान’ निर्माणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई नियम पालना गर्न अपिल गरेको छ। “नियम पालन गरौं, जरिवानाबाट जोगिऔं,” नगरपालिकाको सन्देशमा भनिएको छ।

उक्त निर्णय नगरकार्यपालिकाको बैठकबाट पारित भई आजदेखि नै कार्यान्वयनमा आएको जनाइएको छ। नगरपालिका स्रोतका अनुसार आगामी दिनमा सरसफाइसम्बन्धी नियम उल्लंघन गर्नेलाई थप कडा कारबाहीसमेत गरिने तयारी रहेको छ।

ट्यागहरू: Main Heading Two मुख्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्