पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि कांग्रेस इतर समूह आकस्मिक छलफलमा

शेयर गर्नुहोस् 0 Shares

१४ चैत, काठमाडौं — नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह यतिबेला गम्भीर आन्तरिक छलफलमा जुटेको छ । पूर्वगृहमन्त्री रमेश लेखक लाई सरकारले पक्राउ गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे धारणा बनाउन शीर्ष नेताहरू आकस्मिक रूपमा भेला भएका हुन् ।

स्रोतका अनुसार ठमेलस्थित एक होटलमा भइरहेको छलफलमा करिब २० जना नेता सहभागी छन् । बैठकको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले गरेका हुन् । इतर समूहभित्र पछिल्लो घटनाक्रमले पार्ने प्रभाव, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे गहन छलफल भइरहेको बताइएको छ ।

बैठकमा शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायत नेताहरूको उपस्थिति रहेको छ ।

यसअघि शनिबार बिहान प्रहरीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई हाल महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ । लेखकको पक्राउले कांग्रेसभित्र तरंग पैदा गरेको छ भने पार्टीभित्र विभिन्न तहमा छलफल सुरु भएको छ ।

यसैक्रममा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पनि पक्राउ गरेको जनाएको छ । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

घटनाबारे नेपाली कांग्रेसले अहिलेसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर, विपक्षी दल नेकपा एमाले ले भने अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ । पछिल्लो घटनाक्रमले देशको राजनीतिक वातावरण थप तातेको विश्लेषण गरिएको छ ।

ट्यागहरू: Main Heading One राजनीति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्