देशका विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं — जल तथा मौसम विज्ञान विभाग ले आगामी दुई दिन देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार २०८२ चैत १३ गते (शुक्रबार) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा समान किसिमको मौसम रहने अनुमान गरिएको छ।
त्यसैगरी २०८२ चैत १४ गते (शनिबार) कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले सम्भावित खराब मौसमका कारण दैनिक जनजीवन, कृषि, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
