लहानका केही डेन्टल क्लिनिकमा गैर-चिकित्सकबाट उपचार, मेडिकल काउन्सिलको आकस्मिक अनुगमनमा बेथिति उजागर

शेयर गर्नुहोस् 0 Shares

सिरहा, लहान , फाल्गुन २८ : सिरहाको लहानमा सञ्चालित केही डेन्टल क्लिनिकमा विशेषज्ञ चिकित्सक बिना नै गैर-चिकित्सकले बिरामीको उपचार गरिरहेको गम्भीर तथ्य फेला परेको छ। नेपाल मेडिकल काउन्सिलले बुधबार गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा यस्तो बेथिति उजागर भएको हो।

नेपाल मेडिकल काउन्सिलको व्यावसायिक आचरण तथा स्वास्थ्य समिति संयोजक डा. अजय कुमार साहको नेतृत्वमा गएको अनुगमन टोलीले लहान–३ स्थित अस्पताल चोक आसपासका विभिन्न डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक र वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयका योग्य विशेषज्ञ चिकित्सक बिना नै सेवा प्रवाह भइरहेको पाइएको छ। ती क्लिनिकहरूमा करिब साढे दुई वर्षको ‘डेन्टल हाइजेनिष्ट’ तालिम लिएका जनशक्तिको भरमा बिरामीको दाँतसम्बन्धी जटिल उपचार भइरहेको टोलीले जनाएको छ।

त्यस्तै, केही क्लिनिकहरूले बोर्डमा एक जना चिकित्सकको नाम राखेर भित्र अर्कै व्यक्तिबाट उपचार गराउने, चिकित्सकको हस्ताक्षर दुरुपयोग गर्ने तथा स्वास्थ्य मापदण्डविपरीत सेवा सञ्चालन गरिरहेको पनि अनुगमनमा भेटिएको छ।

यसैबीच, अनुगमन टोली क्लिनिकमा पुगेको सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएका छन्।

टोली संयोजक डा. साहले योग्य चिकित्सक बिना क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी अपराध भएको उल्लेख गर्दै यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमा प्रत्यक्ष जोखिम पैदा गर्ने बताएका छन्। प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनमा अवैध रूपमा सञ्चालन भइरहेका क्लिनिक फेला परेकाले दोषीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

अनुगमन टोलीमा डा. साहसहित विज्ञका रूपमा डा. राजिव शर्मा र डा. सुमन कर्ण सहभागी थिए। नेपाल मेडिकल काउन्सिलले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता आकस्मिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

source : swasthakhabr.com

ट्यागहरू: Main Heading Two

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्